बिहीबार, वैशाख ३१, २०८३

दसैं-तिहारसँगै डुंगा व्यवसायी व्यस्त

आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

कास्की- वर्षायाम सकिएसँगै  फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्। 

National life

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो। चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ।

तीमध्ये डुंगा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन्। कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुंगा चालक चिजमान गुरुङले बताए।

पोखरा आएका पाहुना फेवाताल पुगेर डुंगा सयर गर्ने उनको भनाइ छ। यसरी फेवातालमा डुंगा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए।

'कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो', उनले भने, 'कोरोना घटेपछि पाहुना आएर डुंगा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ।' पहिले दैनिक एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक आठ सय रुपैयाँसम्म कमाइरहेका छन्।

पोखरा आएपछि फेवातालमा डुंगा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आएका समिर मानन्धरले बताए। गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउँदै उनले दसैं बिदाको मेसोमा पोखरा आएको बताए। पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुंगा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उनको भनाइ छ।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुंगा व्यवसायी संघठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। पोखरा आएका पर्यटक फेवातालमा डुंगा चढ्न हुरुक्कै गर्ने कारण डुंगा चालक व्यस्त हुन थालेको उनको भनाइ छ।

फेवातालका आठवटा घाटबाट डुंगा सञ्चालन हुने गर्छ। अहिले ती सबै घाटका डुंगा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिए। बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुंगा छन्। ती डुंगा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुंगा व्यावसायी संघठन अनुगमन समिति पनि बनाएको छ। अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए।

'बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको  ६० रुपैयाँ भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो”, कुँवरले भने, “यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।'

दसैंको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुंगा व्यवसायी र चालक खुसी भएको कुँवरले बताए।  पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुंगा चढ्ने गरेको उनले जानकारी दिए। सोही कारण फेवातालका डुंगा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन्।   -रासस

प्रकाशित: Oct 02, 2022| 19:25 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।