काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले कम सिट पाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका सम्मानजनक सिट नपाएको भन्दै जसपाले असन्तसष्टि व्यक्त गर्दै सम्भव भएसम्म विकल्प खोज्ने र राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारि दिए।
नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।
जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता सुमनले भने, 'हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ।
गठबन्धनले सम्मानजनक सिट नदिए एक्लै भए पनि निर्वाचनमा जाने विषयमा छलफल भएको प्रवक्ता सुमनले बताएका छन्। गत साउन २० गतेदेखि गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि अझैसम्म पूर्णरुपमा सिट बाँडफाँट गर्न सकेको छैन।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ।