काठमाडौं- नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार नेपाल आइपुग्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत ६ अक्टोबर अर्थात दसैंको टीकाको दोस्रो दिन नेपाल आइपुग्ने जानकारी गराएका हुन्।
उनले भनेका छन्, 'म ठूलो आशाका साथ यही अक्टोबर ६ मा मेरो देश नेपाल आइपुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्नेछु।'
उनले आफू निर्दोष भएकोसमेत बताएका छन्। भनेका छन्, 'म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भन्ने कुरा दोहोर्याउँछु। सबै कानूनी निकायहरू र सम्मानित अदालतको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।'
उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्याएर थिए। नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए।
तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाडौं फर्किसकेका थिए। तर होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।
उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जीसमेत लिइसकेको छ। पक्राउ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ।
सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ।