काठमडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्राहलय स्थापना गरिएको छ।
काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गरेका हुन्। त्यस अवसरमा उनले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
उनले सो सङग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गरे।
करिब ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङग्रहालय दसैं सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ। सङग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो। त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उनका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ।