धनकुटा- नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई अस्तित्व समाप्त पारिदिने धम्की दिएका छन्। बिहीबार दिउँसो पौडेललाई फोन गरी राईले जिल्ला छोड्न धम्की दिएका हुन्।
'तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु नि! कम अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन,' उनले भने, 'तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। जिल्लामा तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।'
सांसद राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सीडीयो कार्यालय लगायतलाई बोधार्थ दिएर सुरक्षाको माग गरेका छन्।
यस्तो छ अडिओमा सुनिएको वार्ताः
पौडेलः माननीय ज्यू नमस्कार!
राईः तपाईं आएर मेरो ठाउँमा तपाईं शासन गर्ने?
पौडेलः के भएछ हजुर?
राईः तपाईंलाई फेरि ठिक लाइदिन्छु नि चुनावमा फेरि। तपाईं ख्याल गर्नुहोला, तपाईंले एकदम हेप्नुभएको छ हामीलाई। नहेप्नु नि! तपाईं खुरुक्क जानू यहाँ मसँग अरु डबल कुरा नगर्नू। तपाईंलाई मैले भनिदिएको छु नि! तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु नि। कम अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन्। तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। अर्को कुनै घटना घट्यो भने मलाई नभन्नु। तपाईं दुनियाँ ठाउँमा दादागिरी चलाउने?
पौडेलः के गरेँ मैले भन्नु न त?
राईः तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।
पौडेलः हैन मैले के गरेँ, माननीय ज्यू?
राईः तपाईं खुरुक्क जानुस्, तपाईं मेरो ठाउँमा आएर फूर्ती लगाउने? किन फूर्ती लगाउने? म देखाइदिन्छु।