काठमाडौं- हाम्रो सुरक्षा नीति के हो? यो कसले र कसरी निर्धारण गर्छ? यसको कार्यान्वयन कसरी भइरहेको छ? पुस्तकका पाठकमाझ अब यिनै जिज्ञासा मेटिने गरी पब्लिकेसन्स नेपालयले बिहीबार सार्वजनिक भएको लेखक नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी केशरबहादुर भण्डारीको अंग्रेजी पुस्तक ‘नेसनल सेक्युरिटी एन्ड द स्टेटः अ फोकस अन नेपाल’ले मुलुकको सुरक्षा संवेदनशीलता र यसप्रतिको हाम्रो तयारीबारे अवगत गराउनेछ।
लेखकले इच्छाएको व्यक्तिलाई पुस्तक उपहार दिएर विमोचन गर्ने प्रावधान अनुसार कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रुपमा पुस्तक अनावरण गरेका थिए।
भण्डारी राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा रहेर कामसमेत गरिसकेका अधिकारी हुन्। राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधि गरेका भण्डारीले देश, विदेशका विश्वविद्यालय र सुरक्षासम्बन्धी अध्ययन केन्द्रमा विद्वत् प्रवचन दिँदै आएका छन्।
भण्डारीका अनुसार राष्ट्रिय सुरक्षा परिषद् सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबैभन्दा महत्त्वपूर्ण निकाय हो। त्यसैले यसलाई अधिकारसहितको नेतृत्व दिइनुपर्ने विचार भण्डारीले सार्वजनिक वृत्तमा राख्दै आएका छन्।
२०४६ को परिवर्तनसँगै मुलुकले राष्ट्रिय सुरक्षा परिषद्को आवश्यकता महसुस गरेको हो। परिषद्मा कार्यरत रहँदाकै बखत भण्डारीले सुरक्षा इतिहासमै पहिलो पटक नेपालको राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार पारेका थिए।
दुई विशाल एवं शक्तिशाली छिमेकको बीचमा अवस्थित सानो मुलुकमा पटक–पटक अनेक मुद्दा सतहमा आइरहेका हुन्छन्। त्यसलाई राजनीतिक तवरबाट अनेक हिसाबले विश्लेषण गरिन्छ। तर सामरिक महत्त्वका त्यस्ता विषयवस्तुलाई हामीले सुरक्षाका दृष्टिले भने बुझ्ने प्रयास गरिरहेका हुँदैनौं।जस्तो, पछिल्लो समय अत्यधिक चर्चामा रहेको कालापानीको मुद्दा। दुई मुलुकबीचको सीमा अतिक्रमणसम्बन्धी विषयले हामीबीच परम्परादेखि चल्दै आएको आपसी सम्बन्ध र खुला सिमानाका मुद्दालाई बहसका रूपमा अघि बढाएको थियो। यसै कुरालाई लिएर छिमेकमा रहेका साना मुलुकको राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिको हिसाबले यसबारे धेरै मन्थन भएको पाइएन।
नेपाली समाजले सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र पहिचानजस्ता विषयलाई अत्यन्त संवेदनशीलताका साथ लिने गरेको छ। यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष जोडिएको विषय हो। अर्कोतर्फ राष्ट्रिय सुरक्षा नीतिलाई मुख्यगरी राष्ट्रिय हित, राष्ट्रिय मूल्यमान्यताको जगेर्ना, राष्ट्रिय अस्तित्वको संरक्षण अनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको भलाइले मार्ग निर्देशित गर्दै आएको छ। त्यसैले पछिल्लो समय राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिमा सर्वसाधारणको समेत चासो र अभिरुचि बढ्दै गएको छ।
विशाल दुई छिमेक बीचमा रहेको सानो राष्ट्र नेपालको सुरक्षा नीति, नेपाली सेनाको भूमिका, राजनीतिक आयामलगायत विषयवस्तु समेटेर नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी केशरबहादुर भण्डारी लिखित अंग्रेजी पुस्तकले मुलुकको सुरक्षा संवेदनशीलता र यसप्रतिको हाम्रो तयारीबारे अवगत गराउनेछ।
‘छिमेक एवं विश्व शक्तिराष्ट्रका दीर्घकालीन स्वार्थ जोडिएका भूराजनीतिक अवस्थाले हाम्रो सुरक्षा र समृद्धिका क्षेत्रमा अवसर र चुनौती दुवै उभ्याएको छ,’ लेखक भन्छन्, ‘त्यसैगरी धेरै मुलुकमा जस्तै हामीकहाँ पनि लगातार परिवर्तनशील आन्तरिक परिस्थितिले उभ्याउने आन्तरिक सुरक्षा चुनौतीका अझ बढी जटिलता विद्यमान छन्।’
ऐतिहासिक पृष्ठभूमिका आधारमा पनि शक्तिशाली गोर्खा राज्यको विस्तार र यसले भूराजनीतिक रूपमा बेहोर्दै आएको सुरक्षा खतराकै परिस्थितिमाझबाट हाम्रो मुलुकको उदय हुन पुगेको देखिन्छ। त्यसरी उदाएको मुलुकले लामो समय जहानियाँ शासन, त्यसपछिको निरंकुश र फेरि प्रजातान्त्रिक व्यवस्था हुँदै कम्युनिस्टको वर्चस्वसहितका पछिल्लो परिस्थितिले धमाधम ठूला राजनीतिक फड्काहरू मारेको अवस्था छ। यसले हामीभित्रका आन्तरिक उथलपुथललाई पनि सतहमा ल्याउँदै गरेको छ।
पुस्तककै एउटा अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र सांगठनिक एवं अन्य पक्षलाई निष्ठापूर्वक समेट्ने जमर्को गरेको छ। यसले नेपाली सेनाको संस्थागत स्वरुपलाई समेत आमपाठकमाझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ।
अन्त्यमा साना सार्वभौम राष्ट्रहरूको राष्ट्रिय सुरक्षा परिस्थितिलाई केन्द्रित गरेर यो एउटै पुस्तकले राष्ट्रिय सुरक्षाको फराकिलो सैद्धान्तिक अवधारणालाई समेत बुझाउने प्रयत्न गरेको लेखक बताउँछन्।
विमोचन कार्यक्रममा पुस्तकले उठाएका विषयवस्तुबारे अवकाश प्राप्त रथी बालानन्द शर्माले प्रकाश पारेका थिए। ‘यो पुस्तक तयार पार्न पर्याप्त शोधकार्य गरिएको देखिन्छ,’ शर्माले भने, ‘पुस्तकालयका निम्ति समेत संग्रहणीय स्तरको यो पुस्तक सन्दर्भ सामग्रीका रुपमा उल्लेख हुन लायक छ।’
पुस्तककै सेरोफेरोमा रहेर सञ्चारकर्मी भूषण दहालले लेखक भण्डारीसँग वार्तालापसमेत गरेका थिए। त्यस क्रममा लेखकले मुलुकका लागि पहिलो महत्त्वपूर्ण दस्तावेज संविधान भएजस्तै त्यसपछिको दोस्रो महत्त्वपूर्ण दस्तावेज राष्ट्रिय सुरक्षा नीति हुने बताए। तर यस्तो महत्त्वपूर्ण दस्तावेजलाई कार्यान्वयन गर्न अझैसम्म हामीकहाँ ढिलाइ भइरहेको उक्त दस्तावेजका मस्यौदाकार एवं लेखक भण्डारीले औंल्याए।
विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले पुस्तकको महत्त्वबारे चर्चा गरेका थिए।
‘राष्ट्रिय सुरक्षाजस्तो अत्यधिक चर्चा हुने तर कमै पढिएको विषयवस्तुलाई यसपालि हामीले प्राथमिकताका साथ पाठकसमक्ष राखेका छौं,’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘हाम्रो सुरक्षा र सुरक्षा नीतिका फराकिला विषयवस्तुलाई सम्बन्धित विज्ञद्वारा सरल भाषामा बुझाउन खोजिएको यो सम्भवतः पहिलो प्रयास हो।’