बिहीबार, वैशाख ३१, २०८३

दसैंका लागि घर सजाउँदै थारु समुदाय

अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

कञ्‍चनपुर- यतिबेला कञ्‍चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन्। अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन्।

National life

जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त छन्। थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ। 'अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ,' उनले भनिन्, 'दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो।'

अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन्। थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ। 'दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ,' उनले भनिन्, 'पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन्।' अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उनको भनाइ छ।

पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ। माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन्। चौधरीले भनिन्, 'सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन्।'

स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त छन्। उनी केही दिनदेखि माछाको जोहोमा लागेका छन्। 'घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु,' उनले भने, 'दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो।' पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उनको भनाइ छ।

स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ। यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ। उनले भने, 'पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ।'

टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ। तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ। 'पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो,' उनले भने, 'अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ।' पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन्। 

प्रकाशित: Sep 29, 2022| 22:20 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।