काठमाडौं- संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि कार्यवाहक उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो काठमाडौंमा छन्। बुधबार बिहान काठमाडौं ओर्लिएकी ट्रुडोले बिहीबार मिडिया र नागरिक समाजले लोकतन्त्रमा खेल्ने भूमिकाको विषयमा एक छलफलमा सहभागी भएकी छन्।
सोही अवसरमा उनले अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा विभिन्न समयमा क्षति पुगेका विभिन्न सम्पदा क्षेत्रहरूको पुनर्स्थापना कार्यको अवलोकन गरी सो सम्बन्धी विज्ञ, प्राविधिक, कालिगढहरू र ईतिहासविद्हरूको अनुभव सुनेको दूतावासले जनाएको छ।
उनी बिहीबार साँझ वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा पुगेकी थिइन्। त्यसैगरी उनले गद्दी बैठकको पनि अवलोकन गरेकी हुन्।
आफ्नो भ्रमणको क्रममा ट्रुडोले युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने कार्यक्रम छ। अमेरिकी कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको अमेरिकी दूतावासका अधिकारीहरुले बताए।
१२ दिनको विदेश यात्रामा निस्किएकी उनी नेपालपछि संयुक्त अरब इमिरेट्स जानेछिन्। त्यसपछि उनी मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जानेछन्।


