काठमाडौं- मुस्लिम आयोगले 'पहिलोपटक' आयोगको कार्यालयमा नै दसैंतिहार शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न गरेको छ। आयोगमा दसैंतिहारको कार्यक्रम पहिलोपटक राखिएको बताउँदै अध्यक्ष समिम मियाँ अन्सारीले धार्मिक सहिष्णुतामा थप सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिएका हुन्।
नेपालमा हिन्दू-मुस्लिमबीच धार्मिक सहिष्णुता भएपनि द्वन्द्व चर्काउने प्रयास भइरहेको आरोपसमेत उनले लगाएका थिए। सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको उनले बताए। हिन्दू-मुस्लिमबीच झगडा नभई प्रतिगामी तत्त्वहरुले धार्मिक सहिष्णुतालाई खलल पुर्याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप उनको छ। मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने उनको विश्वास छ।
‘हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरु मिलेर बसेको देश हो। हिन्दू समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ। यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुर्याउनु हो,' उनले भने, 'हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा टेवा पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौँ। हामी सबै नेपाली हौँ, मानव हौँ। समग्र देशको, नेपालीको हीतको काम हामी सबै मिलेर गर्नुपर्छ। हामी कहीँ कतै सुन्छौँ मुस्लिम-हिन्दूको झगडा भयो रे, त्यो कुनै हिन्दू–मुस्लिमको द्वन्द्व भएको होइन, केही तत्व र घुसपेठियाहरुको काम हो। हाम्रो सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्याउने प्रयास भएको छ।’
अध्यक्ष अन्सारीले नेपाल बहुभाषी, बहुजाति, बहुभाषि र बहु सांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने बताएका थिए। आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर विजयादशमी र शुभदीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीले बताएका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो।