नेपाली समाजको बहुलता भित्रका अनेक विभेद, असमानता, उत्पीडन, शोषण, दमन, तिरस्कार, बञ्चितिकरण र उपेक्षालाई सशक्त रूपमा उठाएर विभिन्न कालखण्डमा आन्दोलन भएका छन्। ती आन्दोलनले उत्पीडित वर्ग, समुदाय, तह र तप्काका जनताको मुद्दा उठाउँदै उनीहरूलाई सडकमा उतारेर सीमित व्यक्तिलाई ताज पहिर्याउने मात्र काम भएको तितो यथार्थलाई उपन्यासकार महानन्द ढकालले बुह्रानमा सजीव चित्रण गरेका छन्। जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
विशेष गरेर जंगल फाँडेर खेती योग्य जमिन बनाई जीविकोपार्जन गर्ने दाङका रैथाने भूमिपुत्र थारूहरूको जनजीवन र उनीहरूले आफ्नो प्रिय थातथलो छोडेर अन्यत्रै बसाई सर्नु पर्ने बाध्यताको भोगाई उपन्यासमा मार्मिक रूपमा उठेको छ। दाङ थारूहरूको थातथलो हो। उनीहरूले बन फाँडेर खेती योग्य बनाएको जमिनको लालपुर्जा पहुँचको आधारमा पहाडिया मूलका सामन्ती जमिन्दारको हातमा परेको दुखद भोगाइ छ बुहानमा। आफ्नो जमिन अरूकै भएपछि सुकुम्वासी बन्नुपरेको एक थारु परिवारले नयाँ मुलुक भनेर चिनिएका बाँके र बर्दियामा बसाई सर्नुको विकल्प नरहेको आफ्नै घर, आफ्नै खेत, सहजै खान पुग्ने सपना लिएर नयाँ मुलुक बुह्रान पुगेर पनि कमैया बस्नुको बाध्यता, सुकुम्वासी हुनुको नियति, पुस्ता दर पुस्तासम्म जहाँ जाँदा पनि उत्पीडन, दमन, शोषण र अपमानकै जातोमा पिसिरहनुपरेको नियति बुह्रानमा छ। बुवाको पालामा सुकुम्वासी आन्दोलन, छोरोको पालामा कमैया मुक्ति आन्दोलन र कमैया मुक्त भइसक्दा पनि सशस्त्र संघर्षको भूमिगत क्रान्तिसम्म पुग्दा पनि नफेरिएको गरिब थारूहरूको जीवनका कहालिलाग्दा भोगाइले कथामा पटक-पटक देखिएको विद्रोह र विद्रोहका कारण स्पष्ट भएका छन्।
जुन समुदायले सधैँ उपेक्षा गर्यो, हेप्यो, दमन र शोषण गर्यो त्यही समुदायको एउटा परिवार जसले दु:ख र अप्ठ्यारोमा थारु परिवारलाई आफ्नो परिवार झैं ठान्यो। सकेको सहयोग गर्यो। नसके आपत् विपतमा सल्लाह दिइरह्यो। थारु परिवारले त्यही परिवारलाई सधैँ विश्वास गर्यो। त्यही परिवारको भर मान्यो।
यहाँसम्म कि आन्दोलनहरूले पनि ठगिसकेको माइला थारु फेरी-फेरी भइरहने आन्दोलनमा जाँदा आफूलाई जुनसुकै परिस्थितिमा सहयोग गर्ने परिवारलाई सम्झेर तिनीहरूकै विरुद्धमा देखिएका आन्दोलनहरूमा माइला थारु सहभागी हुँदैनन्। यो सन्दर्भले हाम्रो समाजलाई दिने उच्च सन्देश नै सहिष्णुताको हो। सद्भावको हो। आत्मीयताको हो। नेपाली समाजमा हरेक व्यक्ति उपन्यासकी आदर्श पात्र पार्वती आमा जो पहाडिया हुन्, उनी जस्तो पात्र समाजमा भइदिएको भए विद्रोह नै हुँदैनथ्यो। सबै पार्वती आमा जस्तै हुँदा हुन त शान्ति र समतामूलक समाज हुन्थ्यो भन्ने मानवतावादी सन्देश दिएको छ उपन्यासले।
कथामा पार्वती आमा र माइला थारुका पीडा, दु:ख, असहजता, अभाव, गरिबी उही हुन्। पार्वतीकी आमालाई नियतिले कमजोर बनायो, अभाव दियो, गरिब बनायो। माइला थारुलाई उपेक्षा गर्ने सामन्ती व्यवस्था र समाजका ठालुले चरिनंगा बनाए र बनाइरहे। पार्वतीलाई नियतिले दिनु अभाव दियो। नियतिले दिएको घाउ समयले खाटो बसाउँदै लैजाने रहेछ। तर, समाजको सामन्ती प्रवृत्ति र शासक समुदायको कारण भोग्नु पर्ने अभाव, अपमान र पीडा शासक समुदायको प्रवृत्तिमा सुधार या आमूल परिवर्तन नहुँदासम्म कमजोर समुदाय जहाँको त्यही रहनु पर्ने निष्कर्ष हो जस्तो लाग्छ, उपन्यासको।
कथाको विषयवस्तुले कुनै समुदायको विरुद्ध वा कुनै समुदायको अन्ध पक्षधरताको वकालत गर्दैन। थारु जमिन्दार होस् कि पहाडिया जमिन्दार होस् कमैया बस्नु पर्दाका अप्रिय भोगाई सबैतिर उस्तै देखाएको छ उपन्यासले। पात्रमार्फत अभिव्यक्त विचारहरू नयाँ होइनन् हामी बुह्रान क्षेत्रमा बसाई भएकाहरूले पहाडिया र थारु समुदायद्वारा सुन्दै आएका र कमैया आन्दोलन र सशस्त्र संघर्षलाई नजिकबाट अवलोकन गरेका, प्रभावित भएका हौं। साहित्यमा यति गम्भीर, सुन्दर, मार्मिक, मन हुँडलिने गरी देखेर भोगेर पनि सबैले अभिव्यक्त गर्न सक्दा रहेनछन्। यो क्षमता महानन्द ढकालमा अद्वितीय नै देखियो।
उपन्यासमा थारु संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको छ । गैर थारु भाषीलाई पढ्दा झर्को लाग्ने, शब्दार्थ हेर्नु पर्ने र अरूलाई सोध्नुपर्ने झन्झट छैन। थारु भाषा नबुझ्नेहरूले पनि उपन्यास अध्ययन गरिरहेकै समयमा सहजै थाहा पाउन सकिने गरी स्रष्टाले शब्द र वाक्यहरूलाई प्रयोग गरेका छन्। पृथक र विशिष्ट पहिचान भएको थारु समुदायको जनजीवन रोचक ढंगबाट उठान भएको छ।
जब कमैया केटोले जमिन्दार मालिक कि छोरीसँग विवाह गर्नुपर्ने अवस्था सिर्जना भयो। जमिन्दार सर्बराजले आफ्नी छोरीको कारण पनि त्यो विवाहको नौबत आएको हुनसक्ने बुझेर पनि दोष जति थारु परिवार कै देख्छ। सर्बराजले जति समानताका र मानवताका कुरा गरे पनि थारुलाई ज्वाइँ स्विकार्न नसक्नु पहाडिया जातीय ब्राह्मणवादी सामन्ती अहंकारको हुर्मत लिएको छ औपन्यासिक कथा बस्तुले। सामन्ती जात व्यवस्थालाई थारु पहाडी विवाहले चुनौती दिएको छ। समग्रमा उपन्यास सामाजिक बेथितीलाई प्रहार गर्न सफल भएको छ।
सशस्त्र संघर्षमा घाइते भएको सोमलाल चौधरी माइलाको छोरा भूमिगत भएर क्रान्ति गर्दा नि ठगिन्छ, निर्णायक तहमा पुग्नुपर्ने भएर पनि पुगाइएको हुँदैन। पार्वती आमाको छोरा सुकुम्वासी आयोगको केन्द्रीय अध्यक्ष भइसकेपछि सोमलाललाई जिल्ला सदस्य बनाउँदा माइलाको सो उपहारलाई अस्वीकार मात्र गर्दैन आफ्नो अपमान भएको महसुस गरेर पार्वती आमाको घरबाट रिसाएर हिँडेको कथा र उपहार दिनेसँग गरेको व्यवहार निकै अप्रिय लाग्यो। यस विषयलाई पारिवारिक सम्बन्धमा अझ प्रगाढता आउने गरी पस्कनु पर्थ्यो भन्ने लाग्छ।
सांस्कृतिक, भाषिक, सामाजिक सम्बन्ध, नेपाली समाजको वर्गीय स्वरूप, लैंगिक अवस्था, भूस्वामित्वमा अडिएको पारिवारिक स्तर, गरिबका सामान्य सपना पनि असम्भव बनाइदिने राज्य व्यवस्था, शासकीय प्रवृत्तिलाई सुरुचिपूर्ण प्रस्तुत गरिएको कृति बुह्रानमा साहित्यिक स्वादका अलावा बहुआयामिक ज्ञान र सूचना प्राप्त गरेर पाठकलाई मख्ख बनाउँछ बुह्रानले।