बिहीबार, वैशाख ३१, २०८३

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्‍याएबापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेबापत सेनाले उक्त संख्यामा शान्ति पदक प्राप्त गरेको हो। 

National life

शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ। संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ। विश्वकै सैनिक इतिहासमा साहसिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो वरियतामा छ। विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनमा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेबनानमै पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ। विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको संख्या ६६ पुगेको छ। 

संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ। सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक-पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ।

 द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ। नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए।

नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो। द्वन्द्वका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ। हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ।

पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमान्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ। यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसक्नुभएको छ। संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको संख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ। 

शान्ति सेनामा खटिएबापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ। हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेको शान्ति मिसन नै हो। उक्त कोष शान्ति सेनामा सहभागी भएबापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो। कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ।

शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत सञ्चालन हुँदै आएको छ। शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरु राष्ट्रका सेनालाई तालिम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ। हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका एक सय ९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ। शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ।

सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। नारायण न्यौपाने/रासस

प्रकाशित: Sep 28, 2022| 10:38 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।