काठमाडौं- बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा १५ वर्षीया किशोरीले आत्महत्या गरेकी छन्। डिम्बाशयको क्यान्सर भएर असोज ६ गतेदेखि उपचाररत किशोरीले मंगलबार मध्यान्ह पौने एक बजेतिर अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ।
सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरी डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। उनी असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन्।
बिरामी छोरी कुर्न आएकी उनकी आमा खाना खान निस्किएको समयमा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो।
अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले फलोअपमा आइरहेकी किशोरीको अवस्था जटिल भए पनि उपचार गरिरहेको बताएका छन्। तर, मानसिक रुपमा आफूलाई कमजोर बनाएर बिरामीले नै यस्तो निर्णय लिएपछि आफूहरू दुखी बनेको डा. आचार्यले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार प्रहरीको प्ररम्भीक अनुसन्धानमा आत्महत्या देखिएको बताए। पोष्टमार्टमपछि परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार ती किशोरीलाई क्यान्सरको चौथो स्टेज भइसकेको थियो। र उपचारमा अहिलेसम्म परिवारको १३ लाख रुपैयाँ खर्च भइसकेको थियो। मृतकका बावु रोजगारीको क्रममा भारतमा छन्।