काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोप सत्य नभएको बताएका छन्। मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो दाबी गरेका हुन्। कांग्रेस इतर शेखर कोइराला पक्षले संस्थापनले समानुपातिक टिकट वितरणमा पक्षपात गरेको बताएपछि महतले उक्त प्रस्टीकरण दिएका हुन्।
उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याउने सकिने भएकाले कहीँ–कतै त्यसो भएको भए सुधारिने बताए। उनले भने, ‘आयोगमा बन्दसूची पठाएका छौं। हामीले त्यो सूचीमा सच्याउँदा असन्तुष्टका माग र सबै निर्वाचन क्षेत्रलाई समेट्नेछौं। अब प्रत्यक्ष उम्मेदवार छान्छौं।’
आगामी चुनावका लागि घोषणापत्र लेखनको काम भइरहेको महतको भनाइ छ। सरकारमा भएकै कारण आचारसंहितामा प्रचारमा जान नपाइने निर्णय सान्दर्भिक नभएको उनले जिकिर गरे। समानुपातिकको सूची बनाउँदा पदाधिकारी, पूर्वपदाधिकारी, प्रदेश सभापति बसेरै निर्णय गरिएकाले कोही असन्तुष्ट हुनु नपर्ने उनले औंल्याए।
‘समानुपातिक उम्मेदवारको बन्दसूची एकलौटी भएको भन्ने कुरा सत्य होइन। केही त्रुटि छन्। त्रुटि प्राविधिक मात्र हो। यसलाई सच्याउँछौं’, महतले भने। निर्णय प्रक्रियामा सहभागी नेताहरूले बन्दसूचीमा नाम पठाउँदा गलत भएको भनेको आफ्नो जानकारीमा नभएको उनले बताए। ‘विधानअनुसार सर्वसम्मत बन्दसूची बनाइएको हो। त्यसबाहेकका पार्टीभित्रका अन्यले गर्ने काम अनुशासन विपरीत हो,’ महतले भने।
पत्रकारमा सम्मेलनमा नेता महतले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदम दु्र्भाग्यपूर्ण रहेको बताए। यो संविधान उल्लंघन भएको उनको दाबी छ। उनले भने, ‘एमालेले भ्रमको खेतीका लागि नागरिकता विधेयकमा अड्को थापेको हो। हामी त्यसका विरुद्ध एकाकार भएर उभिनेछौं।’