शुक्रबार, जेठ १, २०८३

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो

सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- बडादसैँको दोस्रो दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड छ।

National life

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजा पताकाले सिङ्गारिएको छ। देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ। आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ। बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्। नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन्।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ। पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारालगायत देशभरका देवी मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ। 

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ। नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ। नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ। 

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ। केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन्। 

यसैगरी दसैँका अवसरमा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ। मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ। कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन्। कतिले जाने तयारी गर्न थालेका छन्। काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन्।  -रासस

प्रकाशित: Sep 27, 2022| 13:25 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।