शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल आइपुग्यो

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल आइपुग्यो

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

नुवाकोट- सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ। 

National life

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो। नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाको प्राविधिक (इञ्जीनियर) टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएका छन्। 

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुँयालले जानकारी दिए। सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता (विसं २०७६ जेठमा) भएको थियो।

'विसं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि (सन् २०२०) फर्किने भनेर गएका थिए', उनले भने, 'चिनियाँ कम्पनीका प्राविधिकहरू स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको छ।' 

चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले साततले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन्। यसअघि चिनियाँ प्राविधिक आठ जनाको टोलीले दरबारको सर्वेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा २० प्राविधिक एक सातादेखि खटिएका छन्। 

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ। उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए। उनका अनुसार सात वर्षअघि गएको भूकम्पले नुवाकोट दरबारलाई क्षति पुर्‍याए पनि प्रवलीकरण गरेर सुरक्षित गर्नसक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ। सोही स्थानमा रहेको रङ्गमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ। 

'दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति पुगेको छ।' द्वारे शाहीले भने, 'अब हुने पुनःनिर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुुनुपर्छ।' दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत पुरातात्विक मौलिकपन (जस्तो पहिला थियो त्यस्तै) कायम राखेर पुनःनिर्माण सम्पन्न भइसकेको छ। 

पुनःनिर्माणको म्याद थप हुन बाँकी

चिनियाँ पक्षले ४५ महिनाभित्र दरबारसहितको सातवटा संरचनाको प्राविधिक अध्ययनका आधारमा प्रवलीकरण तथा पुनःनिर्माण सम्पन्न गर्ने जनाएको थियो। तर उक्त अवधि गुज्रन लागिसकेको छ। नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख फुँयालले बताए। उनका अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रवलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ। 

नेपालमा गणतन्त्र स्थापना भएसँगै साततले दरबारलाई नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएका छन्। खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएका छन्। एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ।   -रासस

प्रकाशित: Sep 27, 2022| 13:07 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।