काठमाडौं– दसैं नजिकिँदै जाँदा हाल देशभरका महत्त्वपूर्ण ६ पूर्ण र २२ वटा सडक आंशिक अवरुद्ध भएको सडक विभागले बताएको छ। साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेंसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुंगेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन्।
वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिक रूपमा सवारीसाधन सञ्चालनमा रहेका छन्। साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ। अवरुद्ध स्थानमा लोडर र स्काभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ। वैकल्पिक सडकका लागि स्थानीयसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ।
बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ। सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ।
कर्णाली राजमार्गको हर्रे, सेतो भीर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध छ। सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सुचारु गर्ने प्रयास भइरहेको छ।
जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटर प्रयोग गरी खुलाउने प्रयास जारी छ। हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेंसीसहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालू छ।
यस वर्ष वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल १ सय ४५ सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ। विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ।
गत वर्ष वर्षामा मात्रै होइन, कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो। यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडक खण्डसमेत पटक–पटक अवरुद्ध भइरहेका छन्।
अवरुद्ध सडक तत्काल खुलाउन जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले बताएको छ। विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राखिँदै आएको जनाएको छ।–रासस