काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन्। सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाका मुख्य पर्यटकीय स्थलको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।
'नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ। तत्कालीन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृत्ति छ। खुलस्त भन्नु पर्दा सट्साइटेड कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ। कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्थ्यका लागि लागेको देखिन्छ। काम गरेर देखाउन एक्कसनमा जानुपर्छ। एक दुई तीन गरी काम गर्ने योजनाका रुपमा जानुपर्छ,' उनले भने, 'विकासको काममा युवाहरुको सहभागिता बढाउनुपर्छ। युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न सक्दैन।'
स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए। सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने उल्लेख गरे। नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको उनको भनाइ छ।