शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

महेन्द्रनगर- आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।

National life

साइपाल हिमालको फेदबाट एक सय ७०  च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैं तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्छन्। 

तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौं/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए।

‘बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ।’ उनले भने, ‘सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो।’ उनले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताए।

‘एक लटमा रु ५०/६० लाखसम्मको कारोबार पनि हुन्छ।’ उनले भने, ‘दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ।’ उनले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाए। उनले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग/अनुदान नरहेको दुखेसो पोखे।

Shivam cement

‘थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु।’ उनले भने, ‘साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन।’ उनले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताए। ‘समयमा पुर्‍याउन सके राम्रै खपत हुन्छ।’ छपन्न भेडा लिएर पोखरा हिँडेका उनले भने, ‘हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो।’

त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैंमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो। बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौंलगायतका बजारमा बिक्री गर्नु उजको मौसमी व्यापार हो। हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दसैंको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ। पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन्।

पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा/च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन्। उनको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन्। ‘दसैंको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ’, पूर्वअध्यक्ष धामीले भने, ‘बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौं। फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ,’ उनले भने।

उनका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य रु २० देखि २५ हजार पर्छ। ‘साइपालमा रु २०/२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा रु ४०/४५ हजार पर्छ’, उनले भने, ‘बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ।’ गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उनले सुनाए।

गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताए। अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन्। बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन्। 

त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उनले बिक्री सुरु गरेको जानकारी दिए। ‘हिजो १६  च्याङ्ग्रा बिक्री गरेँ।’ उनले भने, ‘यस पटक दुई  ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु।’

प्रकाशित: Sep 26, 2022| 08:25 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्