काठमाडौं– नेकपा माओवादी केन्द्र धनकुटाका नेत–कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्रका हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगानासहित प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजीनामा दिँदै मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका हुन्।
आइतबारको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुले राजीनामा दिएको माओवादीका धनकुटा संयोजक डिल्लीराम राईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिटब्युरो सदस्य भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य पनि हुन्। उनले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने प्रस्ताव बैठकमा राखेका थिए।
धनकुटामा सत्तारुढ पाँचदलीय गठबन्धनमा कांग्रेसका भागमा परेको छ । कांग्रेसले धनकुटामा केन्द्रीय सदस्य सुनिल थापालाई उम्मेदवार बनाउने भएको छ। उनी पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पनि हुन्।