काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा चीन, अमेरिका र भारतको तानातानले भूराजनीतिक संकट निम्तिएको बताएका छन्। शनिबार नेपाल समाजवादी पार्टीले चाडवाड अवसर पारेर काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बाबुरामले यस्तो बताएका हुन्।
भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको उनको दाबी छ।
‘पुराना शक्तिहरुले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदै छन्, जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दै छ। यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर बनाउने काम हुँदै छ। त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक छ। त्यसैले निर्वाचनमा अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिलाई बलियो बनाउने गरेर अघि बढौं’, भट्टराईले भने।
तत्कालीन केपी ओली सरकारले संघीयतालाई बलियो बनाउनुको साटो कमजोर बनाउने प्रयास गरेको उनले आरोप लगाए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उनको भनाइ छ।
ओली र राष्ट्रपति भण्डारीकै कारण राज्यका सबै अंग अत्यन्त अराजक ढंगले चलिरहेकाले संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा परेको उनको दाबी छ।