काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्षभन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन्। बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा उनले अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरेका हुन्।
‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ। अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं। हामी उस्तै छौं भन्ने भ्रम त्यागौं। युद्धले शान्ति ल्याएको छ, नेपालमा। युद्धले शान्ति संविधान लोकतन्त्र ल्याएको हो। माओवादी तपाईँको भावना र शान्तिको चाहनासँग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु,’ प्रचण्डले भने।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए। ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नुहुन्थ्यो। उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो। पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो,’ उनले भने।
प्रचण्डले सरदरभन्दा माथि भएका मानिसका बारे सबैको चासो हुन्छ र त्यस्ता व्यक्तित्वमा थापा पर्ने बताए। उनले थापाको जीवनी नयाँ पुस्ताले सिक्न र पढ्न लायक हुने बने बताए। पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको साढे पाँच दशक लामो अविचिछिन्न राजनीतिक जीवन यात्राको दस्तावेज हो- 'मेरा नौ दशक'।