काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले यसबारे कानुनी उपचार खोज्ने विषयमा छलफल गर्ने भएको हो।
संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक गत मंगलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपतिबाटै संविधानको अवमूल्यन भएको गठबन्धनको ठहर छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बालुवाटारमा संविधानविद्हरू र कानुनका जानकारसँग पनि छलफल गरेका थिए।
उक्त छलफलमा संविधानविद्हरू र कानुनविद्हरूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कार्य भएको बताएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।