काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सुचीबाट हटाएका छन्। संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्यतर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो।
उनको नाम कास्की जिल्लाबाट पनि खस आर्यतर्फ पहिलो नम्बरमा सिफारिस भएको थियो भने गण्डकी प्रदेशले समेत उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो। तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन्।
संज्ञा कास्की क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन भने अहिले गण्डकी प्रदेश समितिको सदस्य हुन्। उनी गत जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन्।
नेपाली कांग्रेसको समानुपातिकको सुचीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, तथा पार्टीका शीर्ष नेताहरु र आफन्त परेको भनेर आलोचना भइरहेका बेलामा पौडेलले भने आफ्नी छोरी संज्ञाको नाम समानुपातिकको सुचीबाट हटाएका हुन्। पौडेलले गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले असहमति जनाउँदा जनाउँदै पनि छोरी संज्ञाको नाम हटाएको स्रोतले बताएको छ।