मंगलबार, वैशाख ११, २०८१

सोलु यात्राले सुधारेको प्रचण्ड-जनार्दन सम्बन्ध

प्रचण्ड र शर्मालाई एकै स्टेजमा राख्‍न वडाध्यक्ष राईलाई फलामको चिउरा चपाउनुजस्तै भयो। अनि उनले पदबाट राजीनामा दिने भन्दै घुर्काउन थाले।
 |  बुधबार, असोज ५, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, असोज ५, २०७९

काठमाडौं- गत असोज ३ गते अर्थमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति एकाएक नरम देखिए। माओवादीको पदाधिकारी चयनको विषयले असन्तुष्ट बनेका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममै प्रचण्डमाथि खनिन थालेका थिए। तर, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय उद्घाटन गर्ने क्रममा फरक दृश्य देखियो। प्रचण्डमाथि खनिने शर्माले उनको ‘भक्तिगान’ गाएरै आफ्नो मन्तव्य सकाएका थिए।

triton college

संविधान दिवसको शुभकामना दिँदै उनले यसको श्रेय प्रचण्डलाई दिनुपर्ने दाबी गरे। ‘आज हामी जुन संविधानको कुरा गरिरहेका छौँ। जुन जनताको अधिकारको चर्चा गरिरहेका छौँ। त्यसका पछाडि पृष्ठभूमिमा के भन्‍न चाहन्छु भने, निरंकुशतन्त्रको जुन डरलाग्दो दमन थियो। सामन्तवादले जनतामाथि थिचोमिचो गरिरहेको थियो,’ कसैले फाल्न नसकेको निरंकुशतन्त्र प्रचण्डकै कारण फालिएको दाबी गर्दै शर्माले भने, ‘त्यो सामन्तवादलाई फाल्नका लागि इतिहासका कालखण्डमा थुप्रै संघर्षहरु भए, तैपनि अन्त्य भएको थिएन। तर एकजना त्यस्तो युवा नेपाली जनताले पायो। र उसले सामन्तवादविरुद्ध विद्रोहको झण्डा उठाउने निर्णय गर्‍यो। ती युवा अध्यक्ष कमरेड प्रचण्ड हुनुहुन्थ्यो।’

शर्मा यतिमै रोकिएनन्। छोटो समय भाषण गरेका उनले प्रचण्डकै कारण आफूजस्ता युवाहरुको परिवर्तनको पक्षमा उत्रिएको भन्दै गुणगान गए। आफूहरु प्रचण्डको पछि लाग्‍ने अवस्था नआएको भए आम जनताको बलिदानीपूर्ण संघर्षमा साथ दिने अवसर पनि नपाउने उनको भनाइ थियो। तारिफ गर्दै शर्माले स्टेजबाटै स्यालुट समेत गर्न भ्याए। ‘त्यसकारण म उहाँलाई यो अवसरमा स्यालुट गर्न चाहन्छु। उहाँको विचारको जो आह्वान गर्नुभयो, त्यसको कारणले आज हामीले अधिकार प्राप्त गरेका छौँ,’ उनले भने।

शर्मा अझ उत्साहित हुँदै प्रचण्डको चमत्कारले नै विद्रोहलाई शान्तिमा रुपान्तरण गरेको बताए। यो देशलाई कसरी शान्तिको मार्गमा लग्‍न सक्छौँ र जनताको बलिदानीबाट प्राप्त गरिएका कुराहरुलाई फेरी कसरी संस्थागत गर्न सक्छौँ भनी विद्रोहलाई शान्तिमा ल्याएर चमत्कार गर्ने व्यक्ति अध्यक्ष प्रचण्ड भएको उनको दाबी थियो। साथै संविधानमार्फत् जनताको अधिकारलाई सुनिश्‍चित गरेर जनताको अधिकारको सुरक्षा, बलिदानको सम्मान, राष्ट्रियता र स्वतन्त्रताको विकास गर्ने काम प्रचण्डले नै गरेको भन्दै ‘प्रचण्डगान’ गाए।

प्रचण्ड र शर्मालाई एकै स्टेजमा राख्‍न वडाध्यक्ष राईलाई फलामको चिउरा चपाउनुजस्तै भयो। अनि उनले पदबाट राजीनामा दिने भन्दै  घुर्काउन थाले। 

प्रचण्डकै अगाडि उभिएर भाषण गरेका उनले देशले प्रचण्ड पाउनु अहोभाग्य र गौरवको कुरा रहेको बताए। ‘यसरी पहिलो गणतन्त्रको प्रधानमन्त्री भएर राष्ट्रिय विकास र समृद्धिको पहिलो सुरुवात गर्ने पनि अध्यक्ष कमरेड नै हुनुहुन्छ। स्थानीय स्तरको तमाम विकासको लागि उज्यालो नेपाल बनाउने अभियानको घोषणा पनि अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको थियो,’ उनले तारिफ गर्दै भने, ‘समाजवादको आधार तयार गर्ने एउटा वैचारिक मार्ग निर्देशकको रुपमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ। नेपाली जनताले अध्यक्ष कमरेडलाई पाएका छन्, यो हाम्रो गौरवको कुरा हो। आजको संविधान दिवसको सन्दर्भमा हामीले चर्चा गर्न आवश्यक छ।

corrent noodles
Metro Mart

यसरी शर्माले तारिफ गरेपछि प्रचण्ड पनि उत्साहित भए। शर्मापछि बोलेका प्रचण्डमा तत्काल काठमाडौं फर्कनुको हतारो थियो। त्यसैले छोटो समय भाषण गरेका उनले सोलुखुम्बुले विश्वलाई समाजवाद सिकाउनुपर्ने बताए। नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्ति, शान्ति र  संविधानको नेतृत्व  गर्ने र कार्यान्वयन गर्ने, पहिचानको अधिकार स्थापित गर्ने, समावेशी समानुपातिक बनाउने सौभाग्य कमै प्राप्त हुने उनले बताए। जनार्दनकै लयमा उनले भने, ‘तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। अब पुन: एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्।’

सोलुखुम्बुको कार्यक्रममा सहभागी हुन जाँदै प्रचण्ड नेतृत्वको टोली।  

एकाएक शर्माले प्रचण्डको गुणगान गाउनु र प्रचण्डले पनि उत्साही देखिनुले धेरैलाई आश्चर्य बनाएको छ। किनकी एउटै स्टेज सेयर गर्दा प्रचण्ड र शर्माबीच केही समयअघिसम्म भनाभन हुने स्थिति थियो। जस्तो, भदौ २३ गते अखिल क्रान्तिकारीले रिभोलुसनरी फोर्स घोषणा गर्ने कार्यक्रममा शर्माले प्रचण्डमाथि 'फायर' खोलेका थिए।

उक्त कार्यक्रममा भने शर्माले प्रचण्डप्रति आक्रोश व्यक्त गरेका थिए। मञ्‍चबाटै प्रचण्डले आफूलाई थमाएको पद अस्वीकार गरिदिए। आयोजकले ‘उपमहासचिव जनार्दन शर्मा’ भनेर बोल्न आमन्त्रण गरे पनि उनले आफू उपमहासचिवको हैसियतभन्दा संगठन विभाग प्रमुखको हैसियतमा बोल्न आएको उल्लेख गरे। अनि सुरु गरे प्रचण्डमाथि हमला। 

‘नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्‍ने पनि मेरो माग हो। अध्यक्ष कमरेड यहीँ हुनुहुन्छ। उहाँको सबैभन्दा कडा आलोचक मै हुँ। सबैभन्दा बेसी संरक्षक वा रक्षा गर्ने पनि मै हुँ। अध्यक्ष कमरेडले यो विषयको जवाफ यहीँ उभिएर दिनुहोला,’ जनार्दनले प्रचण्डसामु सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका थिए।

नेतृत्वले गलत गरे आलोचना गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचण्डको चाकडी गर्नेहरूले कुरा बिगारिरहेको अप्रत्यक्ष आरोप पनि लगाइदिएका थिए। ‘म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि आफ्ना नेताले कमजोरी गरे भने आलोचना गर्नुहोला,’ जनार्दनको भाषणमा भनिएको थियो,’ आलोचनाले मात्र नेतृत्वको रक्षा हुन्छ, चाकडीले रक्षा हुँदैन।’

त्यसबेला आफ्नै विश्वासपात्र भनिने जनार्दनबाट सार्वजनिक रूपमै प्रचण्डले पहिलोपटक आक्रमण खेपेका थिए। र, त्यो चुनौती सामना गर्न प्रचण्डले जनार्दनलाई नै माध्यम बनाइदिए। शर्मालाई रक्षा गरी हुर्काएको भन्दै आफ्नो आलोचना गरेर सबै समस्या समाधान नहुने संकेत गरेका थिए। यस्तै स-साना विषयमा आफूलाई नमुच्छन उनको आग्रह थियो।

‘जनार्दनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ। संविधानसभाको पनि नेतृत्व गरेँ,’ शर्मामाथि जाइलाग्दै प्रचण्डले भनेका थिए, ’अब मेरो इच्छा भनेको राम्रो उत्तराधिकारी तयार हुन्। र, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन उदारताका साथ ठूलो छाती लिएर अगाडि बढुन्।’

यसरी अघिल्लो कार्यक्रममा एकअर्काप्रति रुष्ट बनेका शर्मा र प्रचण्ड सोलु पुग्दा नरम सुनिए। त्यसबीचमा औपचारिक संवादमा समेत नबसेका उनीहरु एका-एक एकअर्काको तारिफ गर्ने कसरी भए? अझ प्रचण्डको भक्तिगान गाउन जनार्दन कसरी तयार भए? यसबारे चासो हुनु स्वभाविक नै हो।

...त्यसपछि ‘स्टेज सेयर’ गर्न तयार भए शर्मा र प्रचण्ड 

गत असोज ३ गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय र प्रशासनिक भवन उद्घाटन गर्ने कार्यक्रम बनायो। त्यसको लागि माओवादीबाटै निर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो लगायतलाई निम्त्याउने योजना बनाए।

अध्यक्ष राईकाअनुसार सबैजना कार्यक्रममा आउन तयार भएपनि प्रचण्ड र शर्मा ‘स्टेज सेयर’ गर्न तयार थिएनन्। कारण, पदाधिकारी चयनको विषयलाई लिएर उनीहरुबीच मनमुटाव थियो। भदौ २३ गतेको भनाभनले पनि त्यसमा बल पुर्‍याएको थियो। 

प्रचण्ड र शर्माले स्टेज सेयर गर्न नमान्‍ने कुरा राईलाई चित्त बुझेन। त्यसपछि उनले गाउँपालिका अध्यक्षबाटै राजीनामा दिने भन्दै घुर्काए। ‘तपाईंहरु एकैठाउँ बस्न नचाहने हो भने म पनि अध्यक्ष पदबाट राजीनामा दिन्छु भनेँ। राजीनामा पत्र नै बोकेर गएपछि मात्र उहाँहरु केही लचक हुनुभयो। नत्र त दुईजना सँगै एउटै कार्यक्रममा सहभागी हुन पनि तयार हुनुभएको थिएन,’ राईले सुनाए।

उक्त गाउँपालिकामा माओवादीको राम्रो मत रहेको र आफूले राजीनामा दिँदा कार्यकर्ता भड्किन  सक्ने डरले प्रचण्ड र शर्मा कार्यक्रममा आउन तयार भएको उनले बताए। यसरी जबरजस्ती स्टेज सेयर गर्न तयार भएका प्रचण्ड र शर्माले अन्त्यमा एकअर्काको तारिफ गरेर बिदा भए।


प्रकाशित: Sep 21, 2022| 19:31 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...