काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ताधारी चार दलले विज्ञप्ती निकालेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेको टिप्पणी गरे। तर, अहिले सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सो विज्ञप्तीमा हस्ताक्षर गरेन्।
जनमोर्चाले नागरिकता विधेयकसँग असहमति जनाउँदै हस्ताक्षर नगरेको हो। जनमोर्चा विगतदेखि नै नागरिकता विधेयकका केही प्रावधानको विपक्षमा थियो।
जनमोर्चाका सचिव हिमलाल पुरीले नागरिकता विधेयकप्रति असहमति भएका कारण आफ्नो पार्टीले हस्ताक्षर नगरेको बताए। उनले संयुक्त विज्ञप्तीमा हस्ताक्षर नगरे पनि जनमोर्चाले राष्ट्रपतिको कदमलाई समर्थन नगर्ने स्पष्ट पारे।
उनले भने, ‘नागरिकता विधेयकका केही प्रावधानमा हाम्रो असहमति थियो। त्यही भएर हस्ताक्षर गरेनौं। तर, राष्ट्रपतिले जसरी संसद र संसदीय व्यवस्थामा प्रहार गर्नुभयो त्यो गलत हो भन्ने हाम्रो भनाई हो।’ उनले राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि गरेको प्रहार भन्दा नागरिकता विधेयकका त्रुटी बढी गम्भिर भएकाले जनमोर्चाले हस्ताक्षर नगरेको बताए।
‘हामीलाई राष्ट्रपति गरेको संवैधानिक व्यवस्थामाथिको प्रहार भन्दा मुलुकका लागि नागरिकता विधेयकमा भएका व्यवस्थाले मुलुकलाई धेरै हानी गर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ पुरीले भने।