काठमाडौं- ४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरूको पनि उपस्थिति रहने छ।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे पनि छलफल गर्ने बताइएको छ। प्रतिनिधि सभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रूष्ट छ।
नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा बैठकमा छलफल हुने बताइएको छ। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई उल्लंघन गरेर राष्ट्रपति भण्डारीबाट संविधानको गरिमा पालना नगरेको र संसदीय प्रणालीमाथि प्रहार गरेको गठबन्धनले निष्कर्ष छ।
कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम असंवैधानिक रहेको बताएका छन्। जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको पौडेलको टिप्पणी छ।
‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ उनले भनेका छन्।
माओवादी केन्द्रले पनि राष्ट्रपतिको गदमप्रति असन्तुष्टि जनाएको छ। जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसदीय प्रणालीमाथि प्रहार गरेको टिप्पणी गरेको छ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।
‘राष्ट्रपतिले संसदबाट २-२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्।सबै जिम्मेवार बनौं,' उनले भनेका छन्।