शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा यस्तो हत्याकाण्ड, जसको ‘कनेक्सन’ भारत–पाक गिरोहसँग जोडिन्छ

काठमाडौंमा यस्तो हत्याकाण्ड, जसको ‘कनेक्सन’ भारत–पाक गिरोहसँग जोडिन्छ

आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन पाकिस्तानसम्म जोडिन्छ। २०७३ मा कैदमुक्त भएका लाल मोहम्मदको हत्या गर्न २०७४ असोजमा भारतीय दुई ‘सुटर’ नेपाल आएका थिए।
 |  मंगलबार, असोज ४, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

मंगलबार, असोज ४, २०७९

काठमाडौं– सोमबार बेलुकी ६ बजेर ३२ मिनेट जाँदा काठमाडौंस्थित कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा दिनदहाडै गोली चल्यो। गोली लागेर काठमाडौं जम्बुडाँडामा गार्मेन्ट व्यवसाय गर्ने सर्लाही गोडैता नगरपालिका–१० का लाल मोहम्मद दर्जीको मृत्यु भयो।

triton college

सीसीटीभी फुटेजमा देखिएअनुसार दर्जी बा६च५१५२ नम्बरको कारबाट ओर्लनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहार भएपछि उनी गोली छल्न कारको वरिपरि दौडिएका देखिन्छन्। मोटरसाइकलमा आएकामध्ये रातो सर्ट र जिन्स लगाएका एक व्यक्तिले उनलाई कार वरिपरि लखेटीलखेटी गोली प्रहार गरेका छन्। गोली चलेपछि दर्जीकी छोरीले तेस्रो तलामाथिबाट सुरुमा दोस्रो तलाको टिनमा र त्यहाँबाट सोझै भुइँमा हाम फालेर आक्रमणकारीलाई झम्टिन्छिन्। ती ‘सुटर’ आफूसँग आएका अर्का व्यक्तिको मोटरसाइकलमा चढेर भागेको स्थानीयले बताएका छन्।

टाउकोमा दुई र दाहिने तिघ्रामा दुई गोली लागेका दर्जीलाई शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालले ९ बजे उनलाई मृत घोषणा गर्‍यो।

मृतक दर्जी केही वर्षयता श्रीमती र छोरीसहित गोठाटारमा बस्दै आएका थिए। जम्बुडाँडामा व्यवसाय गर्ने उनले गोठाटारस्थित घरको तेस्रो तला भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट उद्योग चलाउँदै आएका थिए। उनी त्यहीँ बस्थे। गार्मेन्ट व्यवसाय सञ्चालन गरिरहे पनि उनको विगत भने आपराधिक पृष्ठभूमि देखिन्छ। सोही पृष्ठभूमिका कारण उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

सोमबार साँझको घटनालाई प्रहरीले २० असार २०६४ मा अनामनगरमा भएको हत्याकाण्डसँग जोडिएको प्रारम्भिक अनुमान गरेको छ। मोहम्मदको पृष्ठभूमिकै कोण केलाएर अनुसन्धान भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी रविन्द्र धानुकले जानकारी दिए। आक्रमणकारीको प्रहरीले खोजी जारी राखेको छ। घटनास्थलमा ‘मेड इन यूएस’ लेखेको पेस्तोल प्रहरीले बरामद गरेको छ।

corrent noodles
Metro Mart

आपराधिक शृंखला

६० को दशकमा नेपालमा ठूलो मात्रामा नक्कली नोटको कारोबार भइरहेको थियो। प्रहरीले नक्कली नोट कारोबारबारे अनुसन्धान गरिरहेकै थियो। २० असार २०६४ मा अनामनगरस्थित धोबीखोलामा बलराम पटुवाको गोली हानी हत्या भयो। मारिने पटुवा नक्कली नोट कारोबारमा संलग्न गिरोहका सामान्य सदस्य थिए। उनको हत्या अभियोगमा प्रहरीले ९ साउन २०६४ मा थापाजी भनिने लाल मोहम्मद र पर्सा वीरगञ्ज नगरपालिका–१३ का पप्पु गुप्तालाई पक्राउ गर्‍यो।

अनुसन्धानका क्रममा पटुवा, लाल मोहम्मद र गुप्ता एकै गिरोहका सदस्य रहेको खुल्यो। त्यतिबेला अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नक्कली नोट कारोबारका क्रममा पटुवालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। तर उनी लामो समय जेलमा रहेनन्। उनी छोटो समयमै जेलबाट छुटेपछि पटुवाले प्रहरीलाई आफ्नो गिरोहबारे सूचना दिने गरेको आशंका गरी आफ्नै समूहले हत्या गरेको थियो। यसका प्रमुख योजनाकार थिए, सोमबार मारिएका लाल मोहम्मद।

आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन भारत–पाकिस्तानसम्म जोडिन्छ। २०७३ मा कैदमुक्त भएका लाल मोहम्मदको हत्या गर्न २०७४ असोजमा भारतीय दुई ‘सुटर’ नेपाल आएका थिए। 

पटुवाको हत्यामा उनीहरूको संलग्नता पुष्टि भएपछि कर्तव्य ज्यान मुद्दामा दुवै जेल परे। १० वर्ष जेलमुक्त भएपछि २७ जेठ २०७३ मा मोहम्मद केन्द्रीय कारागारबाट छुटेका थिए। कैदमुक्त भएलगत्तै उनले गार्मेन्ट व्यवसाय सुरु गरेका थिए। त्यसयता जाली नोट कारोबारमा उनको संलग्नताबारे खुलेको छैन। तर उनी जेल परेपछि उनीहरूको समूह भने तितरबितर भइसकेको थियो। यसमध्ये एक समूहको नेतृत्व गरिरहेका थिए, बाहिद खान। मोहम्मद निकट मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेन २०६८ मा पटेल हत्याकाण्डमै पक्राउ परी जेल परिसकेका थिए। उक्त समूह विभाजित बन्दै गएको थियो। यसमध्ये बहिद खानले नेतृत्व गरेको समूह शक्तिशाली बन्दै गएको थियो।

मोहम्मद लाल जेलबाट छुटेको केही समयपछि बहिद खान पक्राउ परे। ३० असोज २०७४ मा गोकर्णेश्वरबाट प्रहरीले उनलाई पक्राउ गर्‍यो। खान पनि गार्मेन्ट व्यवसाय सञ्चालन गर्थे।

तर पक्राउ परेपछि खानले यस्तो योजना बनाए, जसले प्रहरी नै चकित र्‍यो। उनले आफू बहिद खान नभई विजयकुमार श्रीवास्तव भएको दाबी गरे। आफू भारतीय मुस्लिम नागरिक नभई नेपाली हिन्दु धर्मावलम्बी भएको दाबी उनको थियो। उनको बिहे नेपाली हिन्दु केटीसँग भएको थियो। 

खानले २०५५ मा सर्लाही प्रशासनबाट जारी भएको नागरिकता दलीलका रूपमा पेस गरे। तर नागरिकताको वैधानिकता जाँच गर्ने क्रममा नक्कली रहेछ। प्रहरी स्रोतका अनुसार बहिद खान पटेल हत्याकाण्डमा संलग्न रहेको जानकारी उनै मोहम्मद लालले प्रहरीलाई दिएका थिए। सोही कारण खान समूहसँग पनि उनको राम्रो सम्बन्ध थिएन।

यसैगरी मोहम्मद लालले नक्कली नोट कारोबारमा संलग्न समूहका चुमन श्रीवास्तवसँग आफ्नो पुरानो लेनदेन रहेकाले त्यही विषयमा आफूलाई सुरक्षा थ्रेट रहेको भन्दै १८ भदौ २०७४ मा सुरक्षा माग्दै प्रहरीकहाँ निवेदन दिएका थिए। ‘२०६४ मा नक्कली नोटको कारोबार नभई लेनदेनकै पैसा चुमनसँग लिन बाँकी रहेको र त्यही विषयमा आफूलाई मार्ने धम्की आएको भन्दै मोहम्मदले त्यसबेला निवेदन दिएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो। 

नभन्दै त्यसको दुई महिनापछि लाल मोहम्मदलाई आक्रमण गर्न आएका भारतीय ‘सुटर’ दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई प्रहरीले पक्राउ गर्‍यो। यसमध्ये दीपककुमार लाल मोहम्मदले आफ्नो कारोबार बाँकी रहेको भनेका चुमन श्रीवास्तवका ज्वाइँ थिए।

त्यसो त, आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन भारत–पाकिस्तानसम्म जोडिन्छ। त्यसबेला प्रहरीले पटेल हत्याकाण्डको अनुसन्धानका क्रममा नेपालमा सक्रिय नक्कली नोट कारोबारी समूहलाई भाइसाब भनिने पाकिस्तानी नागरिकले चलाइरहेको निष्कर्ष निकालेको थियो। 

भारत, पाकिस्तान र बंगलादेशमा नक्कली नोट कारोबारको बिचौलियाका रूपमा मोहम्मद सक्रिय रहेको अनुमान प्रहरीको छ। ‘आपराधिक पृष्ठभूमि देखिएको छ। पाकिस्तानी कुख्यात अपराधी गिरोहसम्म मोहम्मद लाल समूहको कनेक्सन रहेको हुन सक्छ। यस विषयमा अनुसन्धान भइरहेको छ,’ प्रहरी विशेष ब्यूरोका एक अधिकारीले भने, ‘भारत र पाकिस्तानमा आपराधिक गिरोह चलाएर बसेका सिकन्दर, अस्लाम, तमाच भनिने व्यक्तिहरूसँग पनि यो घटनालाई हेरेर अनुसन्धान भइरहेको छ। नेपालमा मोहम्मद लालको समूहसँग सम्बन्धित समूहका व्यक्तिहरूलाई पनि निगरानीमा राखिएको छ।’

२४ भदौमा पनि भएको थियो आक्रमण 

जेलमुक्त भएदेखि नै आफूलाई सुरक्षा थ्रेट भएको भन्दै पटक–पटक प्रहरीमा निवेदन दिएका मोहम्मद लालमाथि २४ भदौमा पनि भौतिक आक्रमण भएको थियो। आक्रमणमा प्रतिकार गरेर भागेका उनले शंखरापुर अस्पताल पुगेर उपचार गरेका थिए। उपचार सक्काएर गत शुक्रबार मोहम्मद लाल सुरक्षा माग गर्दै प्रहरीकहाँ पुगेका थिए। 

आक्रमणमा परेका उनको ढाडमा चोट लागेको थियो।

आफूमाथि अज्ञात समूहले रड प्रहार गरेपछि गोकर्णेश्वरस्थित जम्बुडाँडा प्रहरी चौकीमा उजुरीसहित सुरक्षाका लागि निवेदन दिएका थिए। ‘आक्रमणपछि सुरक्षा माग गर्दै उजुरी आएका थियो,’ गोठाटार प्रहरी चौकी स्रोतले भन्यो, ‘तर आफूलाई कोबाट खतरा हो भन्नेचाहिँ उनले केही खुलाएका थिएनन्।’ 


प्रकाशित: Sep 20, 2022| 13:48 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।