काठमाडौं- जिल्ला प्रशासन कार्यालय भक्तपुरले बालकोटस्थित केपी शर्मा ओलीको निवास परिसरमा ओलीविरुद्ध नाराबाजी गर्नेहरूको खोजी भइरहेको जानकारी दिएको छ। सोमबार बिहान एक्कासी आएर नाराबाजी गर्नेहरुका विषयमा खोजी र अनुसन्धान भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छन्।
'बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास परिसरमा पूर्वप्रधानमन्त्रीज्युविरुद्ध नाराबाजी गर्नेहरू को हुन् र किन त्यसरी नारा लगाए भन्ने विषयमा खोजी भइरहेको छ,' सीडीओ शर्माले नेपाल समयसँग भनिन्, 'यस सम्बन्धमा प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अध्ययन गरिरहेको छ।'
उनका अनुसार युवाहरू १०-१२ वटा मोटरसाइकलमा पुगेर नाराबाजी गरेको देखिइसकेको छ। उनीहरुको अनुहार भने छोपिएको थियो।
युवाहरूले ओली निवास परिसरमा जम्मा भएर 'केपी ओली मुर्दावाद'को नारा लगाएका थिए। यसपछि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको थियो।