काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बन्ने भएकी छन्। कैलाली-५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन सिफारिस भएपनि उनी समानुपातिकमा बस्न राजी भएको कांग्रेसले जानकारी दिएको छ।
२०७४ मा आरजु कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी उनी एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्।
राणासहित दुई सहमहामन्त्री पनि समानुपातिकमा राख्ने तयारी गरिएको छ। फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिक सूचीमा राखिने कांग्रेस स्रोतले जानकारी दिएको छ। यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि समानुपातिकमा बस्ने भएका छन्। यस्तै रामशरण महत, ईश्वरी न्याेपाने, सरिता प्रसाईं, प्रतिमा गाैतम र अम्बिका बस्नेतलाई पनि समानुपातिक सूचीमा राखिएको छ।
मंसिर ४ गते हुने चुनावका लागि सोमबार समानुपातिक सूची पेस गर्ने अन्तिम दिन हो। आइतबार पनि सूची बुझाउन आयोगले आग्रह गरेको थियो।
प्रतिनिधि सभामा २७५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ भने ७ प्रदेशसभामा ५५० जना सांसद निर्वाचित हुनेछन्। प्रतिनिधिसभा र प्रदेश सभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।