सोलुखुम्बु- सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा सोमबार अस्पताल उद्घाटन कार्यक्रम थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनकै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा पुगेका थिए।
भाषणका क्रममा उनले आफूले सोलुको विकासका लागि गरेका कामको फेहरिस्त सुनाएका थिए। तर यतिविधि काम गरेको र त्यसैका विषयमा भाषण गर्दा पनि कार्यक्रममा सहभागीले ताली नबजाएपछि नागरिकहरूमाथि घुर्की लगाए।
'आज विश्वको ध्यान सगरमाथामा छन्। सबै सगरमाथालाई दर्शन गर्न चाहन्छन्। त्यो वातावरण कसरी बनाउने? त्यसको लागि म चताराबाट दुई घण्टामा कालापत्थर पुग्ने सडक विस्तार गर्नेछु। अहिले बजेट विस्तार गर्दैगर्दा मैले सोलुखुम्बुको लागि घोषणा गरेको कार्यक्रमको जानकारी गराउन चाहन्छु,' उनले थपे, 'चतारा (सुनसरी)को सेरेफेरोबाट २ घण्टामा कालापत्थरमा पर्यटक ल्याइपुर्याउने यातायात प्रणालीको विकास गर्ने कुरा ल्याएको छु।'
मन्त्री शर्मालाई लागेको थियो- यति भन्दा त पक्का पनि ताली बज्छ। तर सहभागीले ताली बजाइदिएनन्। 'अहिले त यो भन्दै गर्दा ताली बजेन। बज्नु पनि पर्दैन,' ताली माग्दा पनि नबजेपछि मन्त्री शर्माले थपे, 'विश्वास नहुन सक्छ। तर म संघीय सरकारको पहलमा गरेर देखाउँछु।'
यसअघि एक कार्यक्रममा आफूलाई थमाइएको पद उपमहासचिवलाई अस्वीकार गर्दै अध्यक्ष दाहालको आलोचना गरेका मन्त्री शर्माले सोलु पुगेपछि भने प्रशंशा गरेका थिए।