काठमाडौं– काठमाडौं महानगरले टुकुचा खोलामा डोजर चलाउने अभियानलाई सोमबार पनि निरन्तरता दिएको छ।
महानगरको डोजरसहितको टोलीले हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर टुकुचा उत्खनन् गरिरहेको हो।
महानगरले सम्भावित क्षेत्र पहिचान गरी टुकुचा अतिक्रमित स्थान हात्तीसारमा केही दिनदेखि डोजर चलाइरहेको छ।
महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक, सिद्धार्थ बैंक र हात्तीसार क्षेत्रमा डोजर चलाउँदा टुकुचा खोला भेटिएको थियो।
पुरातत्त्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरुङ ऐतिहासिक महत्त्वको पुरातात्त्विक सम्पदा रहेको बताएर त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरसँग छलफल गरिने बताएको छ।
यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरुङमाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घर कानुनी रीत नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए।