बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभाको अन्तिम बैठक: ओलीको आलोचना, राष्ट्रपतिमाथि प्रश्‍न

प्रतिनिधिसभाको अन्तिम बैठक: ओलीको आलोचना, राष्ट्रपतिमाथि प्रश्‍न

प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सांसदहरुले नागरिकता विधेयकलाई संघीय संसद्‌ले दुई-दुई पटक बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्‍न गरेका हुन्। त्यसैगरी प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठक शनिबार सम्पन्‍न भएको छ। शनिबार बोलाइएको प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले संसद्लाई सम्बोधन गरेका थिए। 

National life

संसद्‌मा सम्बोधन गरेका अधिकांश नेताहरुले राष्ट्रपतिमाथि प्रश्‍न गरेका थिए। उनीहरुले नागरिकता विधेयकलाई संघीय संसद्‌ले दुई-दुई पटक बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्‍न गरेका हुन्। त्यसैगरी प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ। 

प्रतिनिधसभाको अन्तिम कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको आलोचना गरेका हुन्। असंवैधानिकरुपमा दुई-दुई पटक संसद् विघटन गर्ने ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी थिइन्। प्रधानमन्त्री देउवाले भनेका थिए, 'प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भन्नुहुन्छ। यो संसद् नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ (ओली) र हामी सँगसँगै काम गर्न  पाउँदैनथ्यौं। धेरै विधेयक पास गर्न पाउँदैनथ्यौं।’

प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भने आफूले गरेको संसद् विघटनको भने बचाउ नै गरे। एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको ठोकुवा गरे। उनले भने, 'प्रतिनिधिसभा निर्वाचन गत वर्षको १७ र २७ वैशाखमै हुन्थ्यो। त्यतिबेला कुनै प्रणाली जान लागेका थिएनन्, संविधान जान लागेको थिएन। नयाँ संसद् आउँथ्यो। प्रतिगमन कहाँबाट आउँथ्यो?'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन्। प्रचण्डले संविधानको भावना विपरीत ओलीले प्रतिनिधिसभा विघटन गरेकाले प्रतिगमन भएको बताएका हुन्।

Shivam cement

प्रचण्डले भने, 'संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्म्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन भनेर संविधानमा व्यवस्था छ। नयाँ सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको मर्म, भावना, लोकतन्त्रको मान्यता विपरीत प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन हो।'

'संविधानले निर्देशित गरेअनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्नेछौं भन्ने अपेक्षा गरिएको थियो,' प्रचण्डले भने, 'त्यो अपेक्षा नेपाली जनताको, सदनको पनि थियो। तर तीन वर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन।'

प्रचण्डले ओलीप्रति व्यंग्य गर्दै लोकतन्त्रको व्याख्या जसले, जस्तो ढंगबाट गरे पनि हुने देखिएको सुनाए। 'प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्यख्या गर्नुभयो,' अध्यक्ष प्रचण्डले भने, 'लोकतन्त्रको व्यख्या गर्नुभयो। जसले, जे भने पनि हुने रहेछजस्तो लाग्यो मलाई।'

त्यसैगरी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे। पूर्वप्रधानमन्त्री खनालले ओलीले विगतमा काम छैन भन्दै दुई-दुई पटक विघटन गरेका ओलीले आज त्यही संसद्‌मा उभिएर भाषण गरेको भन्दै उनले थपे,'आज ओलीजीले काम छैन भन्दै संविधानलाई नै धरापमा पारेर विघटन गरेको संसद्‌मा उभिएर भाषण गरे। संसद्‌ नभएको भए उहाँ कहाँ भाषण गर्नुहुन्थ्यो। झापामा गएर यो भाषणको काम थिएन।' 

नेता खनालले ओलीले विगतमा नेकपाको सचिवालयका पाँच जना मिलाउन नसक्नेले तीन करोड जनसंख्यालाई एकताबद्ध गर्नै नसक्नेसमेत बताएका छन्। उनले थप प्रश्‍न गरे, 'नेकपाका पाँच जनालाई मिलाएर अघि बढ्न नसक्ने व्यक्तिले कसरी तीन करोड नेपाली जनतालाई एकबद्धता गर्नसक्छन्?'

ओलीले संविधान र व्यवस्थालाई नै खतरामा पार्ने काम गरेको नेता खनालको आरोप छ। उनले थपे, 'पार्टीको नीति, विचार र सिद्धान्त अनुसारका व्यवहार हुनुपर्नेमा पार्टीको नीति विपरीत कामहरु ओलीले गरे। संविधान र व्यवस्थालाई नै खतरामा पार्ने काम ओलीजीले गर्नुभयो।' 

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानमन्त्री ओलीको आलोचना गर्नुका साथै राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम गरेको बताएका छन्। अध्यक्ष यादवले ओलीले मुलुकलाई प्रतिगमनमा लैजान लागेको र सत्ता गठबन्धनले उक्त प्रतिगमनलाई परास्त गर्दै लोकतन्त्रलाई लिकमा ल्याउने काम गरेको बताए। 

त्यसैगरी राष्ट्रपतिले कुनै एक प्रधानमन्त्री अध्यादेश ल्याउँदा तुरुन्त पारित गर्ने र अर्को प्रधानमन्त्रीको पालामा संसद्‌ले दुई पटक बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण नहुने कामले संसदीय मर्यादाको खिल्ली उडाएको बताए। 

उनले भने, 'अध्यादेशमार्फत नागरिकता ल्याउन मिल्दैन भन्‍ने थाहा हुँदैहुँदै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो। त्यही अध्यादेशमा भएको हुबहु प्रावधानलाई संसद्‌बाट दुई पटकसम्म बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्ने भनेपछि यो के हो? संसद्ले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोकेर राख्‍ने काम गरेको छ।'

कुनै पनि संसद्‌ले दोहोर्‍याएर पारित गरेपछि स्वत: ऐन बन्‍ने प्रावधान भएको पनि अध्यक्ष यादवले बताए। उनले थपे, 'राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम भयो। त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने र प्रमाणिकरण नगर्ने हो भने के हाल हुन्छ? संसदीय व्यवस्था र संघीयता नै धरापमाम पार्ने काम भइरहेको छ, त्यसतर्फ सजग हुन जरुरी छ।'

कुनै पनि व्यक्तिलाई राज्यविहीन बनाउने काम मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले संविधान विपरीतका काम भइरहेको पनि स्मरण गराए। थपे, 'हामीलाई लखेटर दशगजामा पुर्‍याएर जारी गरिएको संविधानमा नागरिकता पाउने अधिकारबाट वञ्‍चित गरिनेछैन भनेर उल्लेख गरिएको छ। जसको आमाबुबाको नागरिकता छ, त्यसका सन्तानलाई अनागरिक बनाउने काम भइरहेको छ। तिनलाई राज्यविहीन बनाउने र राष्ट्रियता विहीन बनाउने काम भइरहेको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि व्यक्तिलाई राज्यविहीन बनाउन पाउँदैन।'

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्‌ले दुई-दुई पटक बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले रोकेकोप्रति आपत्ति जनाए। नेता महतोले भने, 'अध्यादेशबाट ल्याउँदा रातारात पारित गर्ने राष्ट्रपतिलाई त्यही नागरिकता विधेयकलाई संसद्‌बाट बहुमतले पारित गराउँदा प्रमाणीकरण गर्न किन रोकेको? लाखौं नेपालीका सन्तानलाई नागरिकता दिलाउनुपर्नेमा यहाँ के षड्यन्त्र भइरहेको छ?'

उनले यो मुलुक सबै नेपालीको भएको उल्लेख गर्दै उनले नश्लीय चिन्तनलाई त्याग्‍न पनि नेताहरुलाई आग्रह गरेका छन्। उनले भने, 'आफ्नै देशका नागरिकलाई नागरिकता दिने कानुन बन्‍न नसक्ने अवस्थालाई कसरी सफल मान्‍ने? दुई-दुई चोटी पारित भएको विधेयकलाई स्वीकृत गर्न रोक्‍नुपर्ने कारण के हो?'

उनले आफूहरुलाई राष्ट्रपतिले बोलाएर चित्त दुखेका कारण रोकेको बताएको पनि उनले संसद्लाई जानकारी गराए। उनले भने, 'राष्ट्रपतिजीले हामीलाई बोलाउनुभयो। उहाँले भन्‍नुभयो- मलाई साह्रै चित्त दुखेको छ। मैले सन्देशसहित फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएको छ। हामीले भन्‍यो- विगतदेखि नै यसैगरी तपाईंको मन पर्ने काम गर्दा चित्ता नदुख्‍ने र अहिले किन चित्त दुख्‍नुपर्‍यो भनेर हामीले भनेका छौं।' 

उनले संविधान र संसद्‌माथि मजाक गरिएको पनि उनले बताएका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने कठोर आन्दोलनमा जाने पनि उनले चेतावनी दिएका छन्। 

नागरिकताविहीन संघर्ष समितिको धर्ना
नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ। नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै शनिबार नागरिकता विहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो। 

नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उनले हालसम्म प्रमाणिकरण गरेकी छैनन्। 

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताए। उनले आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहे पनि हालसम्म मागको सम्बोधन नभएको बताए। सरकारले आफूहरुको संविधानसम्मत् मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उनले बताए। धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन्।  

प्रकाशित: Sep 17, 2022| 19:30 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...