काठमाडौं– शनिबार मध्यरातदेखि कार्यकाल सकिन लागेको प्रतिनिधिसभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्। बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई परमादेशकै कारण सँगै बसेर काम गर्ने मौका पाएको जवाफ दिएका छन्।
संसद् बैठकमा एमाले अध्यक्ष ओलीले अहिलेको सरकार परमादेशी भएको बताएपछि प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद् बचाउन सकिएको र सँगै बसेर काम गर्ने अवसर जुटेको जवाफ दिएका हुन्। ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री देउवाले परमादेश, अदालत जे–जे भने संसद् जीवित भएकै कारण सँगै मिलेर बस्न पाएको सुनाए।
बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भन्नुहुन्छ। यो संसद् नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ (ओली) र हामी सँगसँगै काम गर्न पाउँदैनथ्यौं। धेरै विधेयक पास गर्न पाउँदैनथ्यौं।’
ओलीको कटाक्ष : चुनावमा जाँदा केको प्रतिगमन?
प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले ओलीले दुई पटक गरेको संसद विघटनको बचाउ गरे। संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको ओलीको जिकिर थियो।
अध्यक्ष ओलीले आफू अगाडि बोलेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशले नै संविधानको रक्षा गरेको भन्ने भनाइको प्रतिउत्तर दिँदै निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको ठोकुवा गरे। परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको ओलीको आरोप थियो। अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्तसमेत बैठकमा प्रस्तुत गरे। राम्रो काम गर्दागर्दै परमादेशबाट सरकार गिराउने षड्यन्त्र भएको उनले सुनाए।
ओलीले भने, ‘प्रतिनिधिसभा निर्वाचन गत वर्षको १७ र २७ वैशाखमै हुन्थ्यो। त्यतिबेला कुनै प्रणाली जान लागेका थिएनन्, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो। प्रतिगमन कहाँबाट आउँथ्यो?’