काठमाडौं- कुनै बेला समय संगीतका माध्यमबाट चेतना फैलाउन हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाका पनि उतारेका थिए। यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको कवितालाई नेपथ्य ब्यान्डले शुक्रबारबाट आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ। मञ्जुलको ‘साइँली मोरीलाई’ पुस्तकमा संग्रहित त्यस रचनाले भन्छ-
‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’
यी शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो। तिनै शब्दलाई नेपथ्य ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्यान्डकै ताजा गीत बन्न पुगेको छ।
‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’ अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारम्बार पढेकाले कण्ठस्थै थियो।’
यसरी आनन्द लिएका शब्दलाई गीतमा ढाल्ने काम भने पछिल्लो समय मात्रै गरिएको हो। ‘मञ्जुल-रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,’ उनी थप्छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो।’
अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए। त्यतिबेलै बाटोमा भर्खर बिहे गरेर आएको एउटा जोडी भेटिए। हिँड्दा हिँड्दै त्यो जोडी केहि छिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन्। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रङ्गिएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।
‘त्यो दृश्यले मलाई यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कताकता वर्षौँ पहिले पढेको मञ्जुल दाईको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो।’
त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो।
‘ती जोडीलाई भेटेको दुईतीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ।’ गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छ–
‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’
अमृतका अनुसार त्यो अन्तरालाई पनि त्यसै यात्राका दौरान खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतबद्ध गरिएको थियो।
यसरी दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। केही महिनाअघि मात्र नयाँवर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्यान्डले गाएर सुनाएको थियो। कोभिड महामारीको लगत्तै नयाँ परिवेशमा आयोजित त्यस कन्सर्टमा ब्यान्डको तर्फबाट दर्शकलाई त्यो विशेष कोशेली थियो।
दमकमा आयोजित कन्सर्टमा यो गीत सुनेका दर्शकको उत्साहलाई उतिबेलै भिडियो क्यामराले कैदसमेत गरेको थियो। युट्युबमा आजबाट बग्न सुरुभएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरु हुन्।
‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँगाउँ डुल्ने गरेता पनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतका बारे स्रष्टा मञ्जुल भन्छन्, ‘त्यही भावनाले उतिबेला यी शब्द कोरिएका हुन्।’
‘त्यो दृश्यले मलाई यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कताकता वर्षौँ पहिले पढेको मञ्जुल दाईको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो।’
नेपथ्यले तयार पारेको यो गीतलाई सुनेर आफू आनन्दित भएको प्रतिक्रिया मञ्जुलले दिए। ‘अमृत भाइले आफ्नै शैलीको छापसहित यसलाई तयार पारेर प्रस्तुत गरेका छन्,’ उनले अगाडि भने, ‘यसको आफ्नै मिठास छ।’
नेपथ्य ब्यान्डलाई प्रवर्द्धन गर्दै आएको ‘नेपालय’का अनुसार स्थापनाको तीन दसक पुरा गरिसकेको यस ब्यान्डका हालसम्म नौ वटा एल्बम स्रोतासमक्ष प्रस्तुत भइसकेका छन्। यो गीत भने निकट भविष्यमै पूर्ण हुने तयारीमा रहेको दशौँ एल्बमको नवौँ प्रस्तुति हो। यसका आठ वटा गीत युट्युबमा उपलब्ध भइसकेका छन्।
‘थोरै सन्तानमा सीमित हुँदै गएको नेपाली पारिवारिक संरचनामा अब साइँला र साइँलीजस्ता शब्दहरु क्रमशः लोपोन्मुख भएका छन्,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी एउटा कालखण्डको बेग्लै सामाजिक संरचना पनि उभ्याउने स्वाद यो गीतको थप विशेषता बनेको देखिन्छ।’
पुराना भाकाहरुलाई ब्युँताएर नयाँ पुस्तासम्म पुर्याउने नेपथ्यको प्रयासकै निरन्तरता स्वरुप यस गीतलाई प्राथमिकताका साथ प्रस्तुत गरेको श्रेष्ठले उल्लेख गरे। यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।
भिडियोमा हेर्नुहोस्