काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन्। बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन्।
नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिस्ट पार्टीलाई विभाजित गरेको आरोप लगाए।
अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको उनको गुनासो छ। चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिस्ट पार्टीलाई धराशायी बनाउन प्रचण्ड लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एन्ड कम्पनीको संज्ञा दिए। उनले चितवनजस्तो पवित्रभूमिमा अबका दिनमा छलछाम गर्न नदिने संकल्पसमेत गरे।
'प्रचण्डले एमाले पार्टी कब्जा गर्छु भन्ने दुराशय बोकेका रहेछन्। जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो। त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिस्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरुको हितमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको छ,' उनको भनाइ थियो, 'सबै कम्युनिस्ट देशभक्तहरु आज एमालेमा गोलबद्ध हुनुपर्ने आवश्यकता छ। एमालेका कार्यकर्ता पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा बिष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन् । अघिल्लो पटक प्रचण्डलाई चितवनमा तपाईहरुले जिताउनुस् भन्ने निर्देशन गर्नुभयो, त्यतिबेला हामीले हामीलाई मतपत्र च्यातेर, हडपेर, हराएको कुरापनि बिर्सियौँ। केवल कम्युनिस्ट पार्टीको विकासका निम्ति लाग्यौँ। तर हाम्रो त्याग, बलिदान, समर्पणलाई लत्याए। अहिले हाम्रो सधैँको चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिस्ट पार्टीलाई धराशायी बनाउन लागेका पुष्पकमल एण्ड कम्पनी लागे। हाम्रो चितवनजस्तो पवित्रभूमिमा राजगाज गर्न दिइँदैन। यो हाम्रो संकल्प हो।’
नेकपा (माओवादी केन्द्र) का चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रिय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता आज एमालेमा प्रवेश गरेका थिए।