आइतबार, वैशाख १६, २०८१

चुनावमा गिरीराजमणिलाई भारी पर्ने भयो मेडिकल कलेजको मुद्दा

पूर्वशिक्षामन्त्री भएका गिरिराजमणिले २०६४ सालदेखि मेडिकल कलेज स्थापना गर्ने भन्दै जनतालाई झुक्याएका छन् भने अर्कोतर्फ उनका विश्‍वापात्र र चुनावी रणनीतिकार भनिएका नेता पनि उनीसँग छैनन्।
 |  बिहीबार, भदौ ३०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुन लागेको संघीय संसद् तथा प्रदेशसभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरुले करिब-करिब स्थानीयस्तरबाट आ–आफ्ना दलका उम्मेदवारहरुको नाम सिफारिस गर्ने काम सकेका छन्। स्थानीयस्तरबाट उम्मेदवारको नाम सिफारिस गरेसँगै उम्मेदवारहरुको जितको अंकगणितीय आधारबारे पनि लेखाजोखा हुन थालेको छ। 

triton college

केन्द्रमा दलहरु गठबन्धन बनाउन लागिपरेका छन्। सत्तामा रहेका पाँच दलले गठबन्धन बनाउने निर्णय गरिसकेका छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राप्रपा र लोसपासँग गठबन्धनका लागि छलफल गरिरहेको छ। केन्द्रीय तहबाट गठबन्धन गरेर जाने नेताहरुको रणनीति रहे पनि यसले तल्लो तहमा प्रभावकारी रुपमा काम गर्छ भन्‍नेमा सन्देह देखिन्छ। त्यस्तै सन्देह महोत्तरीको क्षेत्र नम्बर एकमा पनि छ।

बर्दीबास नगरपालिका, गौशला नगरपालिका र भगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ मा पर्ने यो क्षेत्र नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको हो। पोखरेलले २०६४ सालबाट निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

तर, आगामी निर्वाचनमा भने पोखरेललाई मेडिकल कलेजको मुद्दाले अप्ठ्यारो पार्ने आकलन भइरहेको छ। स्थानीयका अनुसार उनले ०६४ सालदेखि नै मेडिकल कलेज स्थापना गर्ने आश्वासन दिएर चुनाव जितेका थिए। तर तीनपटकसम्म जिताउँदा पनि महोत्तरीमा मेडिकल कलेज नखुलेपछि जनता रुष्ट बनेका हुन्। 

अहिले महोत्तरी–१ बाट माओवादीबाट गिरिराजमणि पोखरेलसहित राजु खड्का, भरत शाह सिफारिस भएका छन्। भरत शाह मधेश प्रदेशका गृह तथा संचार मन्त्री हुन्। यद्यपि, पार्टीको संघ केन्द्रित राजनीत गर्ने भएकोले पोखरेलले नै महोत्तरी–१ मा टिकट पाउने सम्भावना बढ्दो छ। 

corrent noodles
Metro Mart

त्यस्तै, लोसपाबाट सरदसिंह भण्डारी सिफारिस भएका छन्। भण्डारीको आफ्नो व्यक्तिगत पकडको मत पनि महोत्तरीमा रहेको छ। एमालेबाट शंकर महत्तोसहित कुमार भण्डारी र देवेन्द्र गौतमको नाम सिफारीस भएको छ। यता जसपाबाट लक्ष्मी महत्तोको प्रभाव पर्न सक्ने भए पनि यसपटक स्वतन्त्र रुपमा चुनाव लड्ने संकेत उनको छ।

सिफारिस भएका र चुनावको तयारी गरेकाहरुको सूची हेर्दा पोखरेललाई यसपटक सहज नहुने विश्लेषण हुन थालेको छ। कारण, उनलाई आजसम्म चुनाव जित्‍न सघाउने विश्वासपात्र नै उनीसँग छैनन्। एमालेबाट सिफारिस भएका शंकर महत्तो यसअघि पोखरेलको चुनावी अभियन्ता थिए। 

नेता महतो माओवादीमा हुँदासम्म पूर्वमन्त्रीसमेत रहेका पोखरेलको विश्वासपात्र मध्येका एक मानिन्थे। अघिल्लो चुनावमा पोखरेललाई जिताउन नेता महतो 'चुनावी रणनीतिकार'को रुपमा उभिएका थिए। उनी नेकपा माओवादी केन्द्रका मधेश प्रदेश समितिका सदस्यका साथै ईन्चार्जको जिम्मेवारीमा रहेर वाईसीएल मधेश प्रदेशको कमाण्ड सम्हालेका थिए। उनको एमाले प्रवेशले सबैभन्दा बढी क्षति पूर्वमन्त्री पोखरेललाई भएको छ। 

यसरी आफ्नाहरु बिच्किँदा पोखरेललाई घाटा त हुन्छ नै, त्यसमाथि यसपटक माओवादीभित्रै अन्तरद्वन्द्व पनि उनको प्रतिकूल हुने देखिन्छ। पार्टीभित्रै पोखरेललाई असहयोग गर्न खोज्‍ने तप्का बर्दीबासमा देखिन्छ। राजु खड्काहरु आफैँले पनि पहिलाका निर्वाचनमा सहयोग गरे पनि अहिले त्यो अवस्था नरहेको महोत्तरीकै माओवादी स्रोत बताउँछ। 

यसअघि पोखरेलकै राजनीतिक सल्लाकारको भूमिकामा रहेका अर्का नेता जीवन गौतम पनि एमाले प्रवेश गर्नुले उनलाई थप घाटा भएको छ। यसरी आफ्नै मान्छेले छोड्दै जानुले पोखरेललाई फाइदा नपुग्‍ने स्थानीय नेताहरु बताउँछन्। ‘पोखरेलकै वरीपरीको मान्छे किन गए त भन्ने कुरा आउँछ। पहिला भन्दा उहाँको क्रेज घटेकै हो,’ बर्दीबासको राजनीतिलाई नजिकबाट नियालिरहेका स्थानीय गुणहरी घिमिरेले नेपाल समयसँग भने, ‘अनि मेडिकल कलेजको विषयले पनि उहाँलाई नराम्रै असर गर्छ। उहाँको क्रेज भनेको यही कलेजसँग नै जोडिएको थियो।’

पूर्वशिक्षामन्त्री भएका गिरिराजमणिले २०६४ सालदेखि मेडिकल कलेज स्थापना गर्ने भन्दै जनतालाई झुक्याएका छन् भने अर्कोतर्फ उनका विश्‍वापात्र र चुनावी रणनीतिकार भनिएका नेता पनि उनीसँग छैनन्। 

यसले मेडिकल कलेजको आश्वासन  दिने तर कार्यान्वयनमा ल्याउन नसकेकोले पोखरेलप्रति असन्तुष्ट थप बढेको देखाउँछ। बर्दीबासमा देखिने खालको विकास खोजेका जनताले मेडिकल कलेजलाई पनि प्राथमिकतामा राखेका थिए। करिब ८० प्रतिशत मान्छेसँग मेडिकल कलेजको सेन्टिमेन्ट जोडिएको पाइन्छ। 

‘आजसम्म बर्दीबासमा उहाँले पाएको मत भनेको यही कलेजको सेन्टिमेन्टले पनि थियो। तर, अब यो पूरा नहुँदा उहाँलाई घाटा हुने देखिन्छ,’ माओवादीकै स्थानीय नेता सौरभ खड्काले भने, ‘खै त मेडिकल कलेज आएको भन्ने प्रश्नहरु पनि आएका छन्।’

यद्यपि, चुनाव नजिकिएपछि भने पोखरेलले पुनः कलेजको विषयलाई लिएर चासो दिन थालेको गुणहरी घिमिरेले बताए। उनकाअनुसार पोखरेलले मेडिकल कलेजबारे चासो देखाउन थालेका हुन्। ०६४ सालदेखि यही कलेज बनाउने आश देखाएपनि त्यो पूरा हुननसक्ने भएपछि पोखरेललाई गाह्रो पर्ने भएको हो। 

यता सर्वोच्च अदालतले पनि कलेज खोल्ने काम स्थगित गर्न आदेश दिएको अवस्था छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकुल असर पर्ने कुनै कार्य नगर्न-नगराउन आदेश दिएको थियो। सुनुवाइ टुंगो नलागेसम्मका लागि त्यस जग्गामा मेडिकल कलेज स्थापना गर्न पाइने छैन। बर्दिवासस्थित पूर्व पश्चिम राजमार्गसँगै जोडिएको उत्तर र भब्सी खोलाको पश्चिमी किनारको वन क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न १०५ हेक्टर वन क्षेत्रका ५६८१ रुख कटान गर्नुपर्ने तथ्य खुल्न आएको पाइएपछि अदालतले कलेज खोल्न रोक लगाएको थियो। यही विषयले पोखरेललाई आउँदो चुनावमा कठिन पार्ने देखिन्छ।

एकातिर मेडिकल कलेजको सेन्टिमेन्ट, अर्कोतर्फ आफ्नै निकटका मान्छेहरु टाढिनुले पोखरेललाई चुनाव जित्‍न चुनौती छ। पोखरेलले भने आफूलाई चुनाव जित्‍ने आधारको रुपमा सत्ता गठबन्धनको मतलाई लिएका छन्। तर, कतिपय स्थानीय नेताहरु भने गठबन्धन भए पनि कांग्रेसले पोखरेललाई मत हाल्ने सम्भावना कम रहेको दाबी गर्छन्। यस क्षेत्रमा लामो समय नेपाली कांग्रेस र जनमोर्चाको प्रतिस्पर्धा (७० सालसम्म) पनि भएकोले अहिलेसम्म एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था छैन। त्यस्तै गठबन्धनभित्रैबाट कांग्रेसको मत पनि माओवादीमा आउन गाह्रो छ। बरु जसपाको मत माओवादी तिर आउनसक्छ। तर कांग्रेसको ३० प्रतिशत मत पनि माओवादीमा जान गाह्रो रहेको कांग्रेसकै एक नेताले बताए। 

यसअघि बर्दीबासमा पार्टीकै आह्वानलाई अस्वीकार गरेकोले पनि कांग्रेसले पोखरेललाई मत हाल्ने सम्भावना न्यून देखिएको ती नेताले बताए। बरु स्वतन्त्रको तयारी गरिरहेका महत्तोलाई मत जानसक्ने उनको विश्लेषण छ। ‘यसअघि आफ्नै आधिकारीक उम्मेदवारलाई छोडेर बागीलाई मत हालेको कांग्रेसले सहजै माओवादीलाई भोट हाल्ने मचाहीँ देख्दिनँ। त्यसमाथि मेडिकल कलेजको कारण बढेको असन्तुष्टि त छँदै छ,’ उनले भने। 

यस्तो छ पहिलेका चुनावी परिणाम

०७४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नं १ मा प्रतिनिधि सभा  र प्रदेशसभा दुवैतर्फ संयुक्त वामगठबन्धनका साझा उम्मेदवार विजयी भएका थिए। प्रतिनिधिसभातर्फ संयुक्त  बामगठबन्धन अन्तर्गतका पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याएर विजय भएका थिए भने निकटत्तम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले १९ हजार ४ सय ९२ मत ल्याएका थिए। त्यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

गत वैशाखमा भएको स्थानीय चुनावको तथ्यांक भने केही फेरिएको पाइन्छ। यो क्षेत्रमा बर्दीबास नगरपालिका, गौशला नगरपालिका र भँगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ पर्छ। बर्दीबासमा मेयरको मत हेर्दा सबैभन्दा धेरै कांग्रेसको बागी उम्मेदवारको छ भने दोस्रोमा माओवादी छ। 

कांग्रेसका बागी प्रहलाद कुमार क्षेत्रीले १४ हजार २१० मत ल्याएका थिए भने माओवादीका राजु खड्काले ८ हजार ३२३ मत ल्याएका थिए। एमालेका टेक बलम्पाकीले ३ हजार ५२६ मत ल्याएका थिए। कांग्रेसका आधिकारीक उम्मेदवार चिरन्जीवी हमालले १,२६३ मत ल्याउँदा जसपाका विनोद महतोले ४२९ मत ल्याएका थिए।

त्यस्तै गौशलामा जनता समाजवादी पार्टीले सबैभन्दा धेरै मत पाएको छ। जसपाको दिपेन्द्र महतोले ८ हजार ७९९ मत ल्याएर विजयी भए भने माओवादीका विष्णु योन्जनले ५ हजार ६२७ मत पाएका छन्। नेपाली कांग्रेसका वसन्त कुमार गुरुङले ५ हजार १३२ मत पाएका छन्। लोसपाका देवनारायण महतोले २ हजार ८७८ मत पाएका छन्। एमालेको जम्मा १ हजार ५५८ मत छ। भँगाहाको ३, ४, ५ र ९ वडाको मत जोड्दा कांग्रेसको २ हजार २८२ मत छ। लोसपाको २ हजार १४४ मत छ। माओवादीको १ हजार १० मत छ भने एमालेको जम्मा ४४३ मत रहेको छ।

प्रकाशित: Sep 15, 2022| 07:30 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...