काठमाडौं– पेट्रोलियम ढुवानी व्यवसायीले विभिन्न माग राखेर पेट्रोल आपूर्तिसम्म ठप्प पार्ने संघर्षका कार्यक्रम घोषणा गरेपछि नेपाल आयल निगमले कारबाही गरिने बताएको छ। निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल नरोके कानुनअनुसार कारबाही हुने बताएको हो।
निगमले व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको जनाएको छ। चाडपर्वको समय नयाँ उडान थप गर्न र उडान संख्या बढाउन लागेका विमान कम्पनीलाई निगमले हवाई इन्धन आपूर्ति गर्न नसकिने जानकारी गराउनुपरेको निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए।
‘पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,’ निगमले भनेको छ, ‘विद्यमान कानुन र निगम व्यवसायीको माग पूरा गर्न छलफल भइरहेकाले आन्दोलनका कार्यक्रम स्थगर्न गर्न पुनः अनुरोध गर्दछौं।’
पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै कांग्रेस निकट पेट्रोलियम व्यवसायी आन्दोलनमा छन्। १७ भदौदेखि उपत्यकाबाहिरका विमानस्थलको हवाई इन्धन ढुवानी ठप्प बनाएका उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थको पीडीओ उठाएका छैनन्।
उनीहरूले १ असोजदेखि देशैभरको ढुवानी ठप्प पार्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। व्यवसायीले २० प्रतिशतसम्म ढुवानी भाडा बढाउन आयल निगमलाई दबाब दिँदै आएका छन्।