शनिबार, फागुन ३, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • गाउँघर चिहाउनेदेखि मानवीय संवेदना झल्काउने ५०० चित्र एकैसाथ प्रदर्शनीमा

Siddartha premir insuranceSiddartha premir insurance

गाउँघर चिहाउनेदेखि मानवीय संवेदना झल्काउने ५०० चित्र एकैसाथ प्रदर्शनीमा

प्रदर्शनीमा चार सयभन्दा बढी नयाँ/पाका कलाकारले धर्म, संस्कृति, समाज, ग्रामीण परिवेश, सहरको पर्यावरण, आधुनिकताले नासिँदै गएको प्रकृतिलाई हुबहु उतारेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

राज सरगम

राज सरगम

बिहीबार, भदौ ३०, २०७९

ntc landingntc landing

काठमाडौं– गाउँघरका दृश्य झट्ट बयान गर्न नसके पनि कक्षा ७ मा अध्ययनरत सम्मानित अधिकारीले एउटा चित्र बनाइन्, जसको नाम राख्न पनि आएन। तर कसैले केको चित्र बनाएको भनेर सोधीखोजी गरे उनी निर्धक्क भन्न सक्छिन्, ‘गाउँघरको चित्र बनाएँ।’

himalayan bank box

हिमाल, हिमालमुनि पहाड र पहाडको खोंचमा सुकिला घरहरू, जहाँ एकाध मानिस देखिन्छन्। यही चित्रको सहारामा सम्मानित बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको बृहत् कला प्रदर्शनीमा भाग लिन पुगिन्। 

सानैदेखि कलामा रुचि राख्ने सम्मानितका लागि यो प्रदर्शनी चमात्कारजस्तो लाग्छ। यसअघि पनि कला प्रदर्शनीमा उनी दर्शकको रूपमा पुगेकी थिइन्। चित्रको बनोट र रङले उनलाई खुबै तान्थ्यो तर भेउ पाउँथिनन्। जब आफैंले कोरेका  चित्र कैयौं चित्रहरूमाझ देखिन उनलाई सपनाजस्तै भयो। यो खुसी सम्मानित शब्दमा व्यक्त गर्न सक्दिनन्। भन्छिन्, ‘गुरुहरूका माझमा आफ्नो चित्र पनि प्रदर्शनीमा देखेर खुसी लागेको छ।’

सम्मानित अधिकारी

संस्कृति इन्टरनेसनल स्कुलकी १२ वर्षीया सम्मानितजस्तै विद्यार्थी हुन्, प्रकाश मिजार। कक्षा ५ पढ्ने मिजारका पनि केही चित्र राखिएका छन्, प्रदर्शनीमा। आफ्नो चित्रको भावनालाई उनले बुझाउने कोसिस गरेका थिए। आफूजस्तै विद्यार्थी साथीहरूलाई आफ्नो चित्रबारे बताउँछन्। उनका अनुसार कला प्रदर्शनीले साना स्कुले बालबालिकालाई सिर्जनात्मक कार्यमा सकारात्मक प्रभाव पार्नेछ। मिजारले भने, ‘अरूको चित्र देखेर अझै चित्र बनाउन मन भएको छ।’

प्रदर्शनीमा चार सय बढी नयाँ/पाका कलाकारले धर्म, संस्कृति, समाज, ग्रामीण परिवेश, सहरको पर्यावरण, आधुनिकताले नासिँदै गएको प्रकृतिलाई हुबहु उतारेका छन्।

सयौं स्कुले विद्यार्थीका कलाकृति र अग्रज कलाकारका कलाकृतिलाई एकैसाथ समेटेर अलफ्रेस्को मिडिया एन्ड म्यानेजमेन्ट संस्थाले बृहत् कला प्रदर्शनी सुरु गरेको हो।

‘अहिले मोबाइलजस्ता प्रविधिको लतमा भासिएका बालबालिकालाई चित्र सिर्जना त्यसबाट टाढा राख्ने माध्यम बन्न सक्ने उनको बुझाइ छ। ‘व्यक्तिगत रूपमा चलेको संस्थाले कला र बालबालिकाको स्तरोन्नतिका लागि निकै सराहनीय काम गरेको छ’, आफ्नो बच्चा लिएर प्रदर्शनी अवलोकनमा आएको एक शिक्षकले भने। 

कलाकार ईश्वर डंगोलका कुनै चित्र छैनन् प्रदर्शनीमा। तर उनका विद्यार्थीले बनाएका चित्र प्रदर्शनीमा राखिएकाले प्रदर्शनी अवलोकनमा आएको बताउँछन्। भन्छन्, ‘मेरा लागि होस् या मेरा विद्यार्थीका लागि। यो प्लेटफर्म निकै ठूलो हो। यहाँ–नयाँ पुराना कलाकारको सहभागिता छ। बाल कलाकारले मात्रै नभएर हामीले पनि सिक्ने अवसर पाइने भएकाले प्रदर्शनी हेर्न आएको हुँ।’ 

प्रदर्शनीमा ‘अलोकेश्वर’ नामक एउटा पौवा चित्र राखिएको छ, जसको मूल्य १ लाख ८० हजार छ। राजकृष्ण महर्जनले बनाएको यो चित्रमा  भगवान्ले मनमा प्रकाशको शान्ति दिने बताउँछन्, चित्रकार महर्जन। अलोकेश्वर र गणेशका दुई क्यानभास थिए, महर्जनका। उनी भन्छन्, ‘अन्य चित्रभन्दा भगवान्को चित्रले मानवीय संवेदना जगाउँछ।’


मीना श्रेष्ठले बनाएको ‘नेवर गर्ल’ नामक चित्रले उपत्याकाभित्रका नेवारी महिलाको सामाजिक र सांस्कृतिक पहिरन झल्काउँछ। विक्रम प्रजापतिले कोरेको एक चित्रको नाम छ, टुँडाल, जसले उपत्याकाका विभिन्न मठमन्दिरमा बनेका आकृतिको प्रतिनिधित्व गर्दछ।

प्रदर्शनीमा परम्परागत पौभा, मिथिला कला, समकालीन तथा आधुनिक, अमूर्त तथा ल्याण्डस्केप विधाअन्तर्गतका चित्र छन्। यस वर्ष आयोजक संस्थाले मन्टेश्वरी र कक्षा १ देखि ४ सम्म, कक्षा ४ देखि ७ सम्म, कक्षा ८ देखि १० सम्म र कलेज स्तरका विद्यार्थीबीच कला प्रतिस्पर्धा गराएर उत्कृष्ट कलाकृतिलाई पुरस्कृत गरेको थियो। साथै, प्रदर्शनी उद्घाटन अवसरमा छनोटमा परेका २३ बढी नयाँ पुस्ताका कलाकारलाई संस्थाले सम्मान गरेको थियो।

चार सय बढी कलाकारले सिर्जनामार्फत धर्म, संस्कृति, समाज, ग्रामीण परिवेश, सहरको पर्यावरण, आधुनिकताले नासिँदै गएको प्रकृतिलाई उतारेका छन्। कलामार्फत नै उनीहरूले पृथ्वीमा रूखको महत्त्व, मानवीय भावना, सामाजिक एकता, पृथ्वीमा सबै जीवको बाँच्ने समान अस्तित्वलगायतलाई उठानको जमर्को गरेका छन्।

कलाको माध्यममा बालबालिकामा नैतिक शिक्षा दिई तिनलाई कलाकारका रूपमा कला क्षेत्रमा दिगो रूपमा स्थापित गराउनु संस्थाको ध्येय रहेको क्षेत्रीय को–अर्डिनेटर प्रतिभा विश्वकर्माले बताइन्। उनले भनिन्, ‘हाम्रो उद्देश्य नयाँ पुस्तालाई प्रोत्साहनका लागि पुराना कलाकारसँग सहभागी गराउने र आत्मविश्वास जगाउनु हो। उनीहरूलाई कलाका माध्यमबाट आत्मनिर्भर हुन सिकाउनु हो। प्रदर्शनीमार्फत हामी नयाँ र पुराना कलाकारबीच सम्बन्ध स्थापित गर्ने पुलको निर्माणको कोसिस गरेका छौं।’

गाउँघर चिनाउनेदेखि मानवीय संवेदना जगाउने पाँच सय चित्र एकै प्रदर्शनीमा भेटिनु नयाँ कलाकारलाई प्रोत्साहन र पुराना कलाकारको सम्मान गर्नु हो। प्रदर्शनी ३० भदौसम्म चल्नेछ।

प्रकाशित: Sep 15, 2022| 10:48 बिहीबार, भदौ ३०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्