बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, भारतको सबैभन्दा बढी

नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, भारतको सबैभन्दा बढी

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदन।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– नेपालमा विभिन्न ५५ देशको २ खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव ८ प्रतिशतले बढेको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जा अंश १४.५ प्रतिशत रहेको छ। चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।

आव २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ। 

२०७८ असार मसान्तसम्म नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ। 

यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ। वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको छ।

प्रकाशित: Sep 13, 2022| 17:10 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्