बिहीबार, असोज ८, २०८३

दुर्गममा पठाइँदै करिब दुई लाख क्विन्टल चामल

कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन लागेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षमा १ लाख ८० हजार क्विन्टल चामल दुर्गम क्षेत्रमा ढुवानी गरिने बताएको छ। कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन लागेको हो। चामल ढुवानीका लागि ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीले बताएको छ। 

सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याएर अनुदान दिँदै आएको छ। कम्पनीले स्थल र हवाई मार्गबाट दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ। कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल ढुवानी भइरहेको बताए। 

मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उनको भनाइ छ। कम्पनीले गत आर्थिक वर्ष ३ लाख ८ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकामा २ लाख ५४ हजार ६२९ क्विन्टल ढुवानी गरेको थियो। 

कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ। उपभोक्तालाई राहत दिन बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले किसानबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर चामल बिक्री गर्दै आएको छ। 

कम्पनीले कर्णालीको स्थानीय उत्पादन खरिद गरी उपत्यकामा वितरण गर्ने योजना सार्वजनिक गरेको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यसहित हुम्लाको सिमकोट गाउँपालिकासँग स्थानीय उत्पादन खरिद गर्न सम्झौता गरी प्रक्रिया अगाडि बढेको कम्पनीले बताएको छ।

कम्पनीले हुम्ला, जुम्लामा उत्पादन भएका सिमी, फापर, उवा, मार्सी चामललगायतका अन्य उत्पादन खरिद गरी काठमाडौंमा बिक्री गर्नेछ।

प्रकाशित: Sep 13, 2022| 11:59 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्