काठमाडौं- पछिल्लो साता बाणिज्य बैंकहरुमा विस्तारै निक्षेप बढ्न थालेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता मात्र बाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब ५१ करोड रुपैयाँले बढेको छ। अघिल्लो साता बैंकहरुको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले बढेको थियो।
भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले घटेको निक्षेप दोस्रो सातादेखि ५१ करोड रुपैयाँले मात्र बढेको थियो। त्यसपछि भने निक्षेप बढ्न थालेको बैंकले जनाएको छ।
त्यसैगरी भदौ लागेपछि कर्जा प्रबाह भने बढेको छ। गत साता बाणिज्य बैंकहरूले ६ अर्ब ८६ करोड रुपैयाँले कर्जा प्रबाह गरेका छन्।
भदौको पहिलो साता बाणिज्य बैंकहरुले १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रबाह गरेकोमा दोस्रो साता १ अर्ब ३० करोड, तेस्रो साता १ अर्ब ६७ करोड र चौथो साता ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको संघले जनाएको छ।
चाडवाड नजिकिएसँगै रेमिट्यान्स आप्रबाहमा बढोत्तरी तथा चुनावी माहौलका कारण लुकेर रहेको पैसा बाहिर आउन थालेपछि निक्षेप बढ्न थालेको बैंकरहरुको विश्लेषण रहेको छ।