काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू बैठकमा सहभागी हुनेछन्।
सत्ता गठबन्धन आवद्ध दलले पटक-पटकको छलफलबाट पनि सिट बाँटफाँटको विषयमा टुंग्याउन सकेका छैनन्।
गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरूले सिट संख्या समझदारी बनाएको बताइएको छ।
गठबन्धनले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा भएपछि गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा समझदारी बनाउन कार्यादेश दिएर २१ साउनमा ११ सदस्यीय कार्यदल बनाएको थियो।
एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो। सोही अपुरो रिपोर्टको बारेमा गठबन्धनमा छलफल जारी छ।