काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा हिमालय पार व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए। चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता उनले जनाए। दसैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने उनको भनाइ थियो।
मन्त्री खड्काले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए।
ज्ञापनपत्र बुझाएपछि कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए। उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए। नेता बस्नेतले त्यहाँका स्थानीयले झिटिगुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए। उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको व्यापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए। बस्नेत सिन्धुपाल्चोकका पूर्वसांसद हुन्।
ज्ञापनपत्र बुझाएपछि हिमालय पार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दसैं आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए। उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडोभन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे।