विराटनगर– मोरङको लेटाङका तीन बालिका शनिबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु २४ घण्टासम्ममा पनि फर्किएका छैनन्।
स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु फुटबल हेर्न भनेर घरबाट निस्किएका थिए। तर गाउँमा कुनै फुटबल प्रतियोगिता नै आयोजना भएको छैन। अभिभावकलाई ढाँटेर घरबाट निस्किएका उनीहरु कहाँ गए भन्नेबारेमा केही पनि खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।
उनका अनुसार खोजी तीव्र पारिए पनि फेला पार्न सकिएको छैन। घटनाका बारेमा प्रहरीलाई आइतबार बिहानमात्रै जानकारी आएको उनले बताए। हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखिएको डिएसपी श्रेष्ठले बताए।