आइतबार, जेठ ३१, २०८३

कैलालीमा उत्पादित केराको बजार देशैभरि

पछिल्लो समय यहाँका नागरिकले केराका परिकारलाई खाद्य वस्तुका रुपमा प्रयोगमा ल्याउन थालेका छन्। यहाँ उत्पादन भएको केराले देशैभर बजार पाएको छ
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

टीकापुर- खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको केरा खेती कैलालीमा हरेक वर्ष विस्तार हुँदै गएको छ। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करिब नौ सय बिघा जमिनमा केरा खेती गरिएको छ। 

National life

पछिल्लो समय यहाँका नागरिकले केराका परिकारलाई खाद्य वस्तुका रुपमा प्रयोगमा ल्याउन थालेका छन्। यहाँ उत्पादन भएको केराले देशैभर बजार पाएको छ। यहाँ उत्पादन भएको केरा सुदूर र लुम्बिनी प्रदेशका केही जिल्लामा मात्र होइन पूर्वी नेपालका केही जिल्लामा समेत जाने गरेको छ।

यहाँ उत्पादन भएको केरा बढी पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा खपत हुन्छ। यी सहरमा दैनिक यहाँ उत्पादन भएका केराका गाडी जाने गरेका केरा व्यवसायी किसान विनोदकुमार शाह बताउँछन्। 'मैले दाङ, सुर्खेतलगायत विभिन्न ठूला सहरमा केरा पठाउने गरेको छु', उनले भने, 'पचपन्न बिघामा खेती गरेको छु। अब केराको याम सुरु हुँदैछ। दसैँ तिहारका समयमा हामीलाई केरा बेच्न बजार खोजाखोज हुन्छ।'

केरा किसान शाह भारतीय केरा भित्रँदा नेपाली केराले बजारमा मूल्य पाउन भने समस्या रहेको बताउँछन्। 'भारतीय केरा नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छ। त्यहाँ सरकारले किसानलाई विभिन्न सहयोग र अनुदान दिन्छ। त्यहाँ लागत कम लाग्छ। हामीकहाँ लागत बढी हुन्छ', उनले भने, 'सिजनमा भारतीय केरा सस्तोमा आउँदा हामीलाई लागत उठाउनसमेत समस्या हुन्छ। अस्वस्थ प्रतिस्पर्धा हामीले गर्नु परिरहेको छ।'

केरा किसानहरु आफ्नो बजारमा पहिलो प्राथमिकतामा नेपाली उत्पादित केराले बजार पाउनुपर्नेमा भारतीय केरासँग अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको गुनासो गर्छन्। केराले देशैभरि बजार पाए पनि उत्पादन भएको समयमा लागत  मूल्यसमेत नपाउँदा फाइदा लिन कठिन भएको उनीहरुको भनाइ छ। 

Shivam cement

भारतीय केरा सहजै नेपाल भित्रन नदिएमा नेपाली केराको माग देशैभरिबाट आउने गरेको कृषक शाहले बताए। 'सरकारको नीति भएन, स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति हुनुपर्छ, आफ्नो उत्पादन अभाव भए पो बाह्य उत्पादन ल्याउने हो', उनले भने, 'आफ्नो उत्पादनले मूल्य नपाउने गरी भारतीय उत्पादन नेपाली बजारमा आउँदा कृषि पेशामा लागेका किसान विस्थापित हुनुपर्ने अवस्था आउने देखिन्छ।'

'केरा बढी उत्पादन हुने र बिक्री गर्ने समयमा बजारमा भारतीय केराले बजार ढाक्छ', केरा किसान टेकेन्द्र धामी भने, 'हाम्रोमा प्रतिदर्जन केरा ३० पर्छ तर सिजनमा १० देखि २० सम्ममा बेच्नुपरेकाले घाटा भएको छ। अस्वस्थ प्रतिस्पर्धाले नेपाली किसान सुरक्षित छैनन्।'

यहाँका किसानले गत वर्ष बजार नपाएपछि १० प्रतिदर्जन मूल्यमा केरा बेच्नुपरेको थियो। फाइदा नभए पनि लगानी केही उठोस् भनेर धेरै किसान न्यून मूल्य पाए पनि केरा बेच्न बाध्य भएका थिए। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण किसानका केरा बजार नपाएर बारीमा सडेका थिए। किसानहरु भारतीय केरा नेपाल भित्रिन कडाइ गरेमा नेपाली केराले राम्रो बजार र मूल्य पाउनेमा आशावादी छन्।  

विगतमा फलफूलका रुपमा खाइने केरा आजभोलि मानिसले अन्नका रुपमा समेत खान थालेका छन्। केरा स्वास्थ्यका हिसाबले समेत फाइदा दिने फल भएकाले यसका विभिन्न उत्पादन बनाएर खानेहरु समेत यहाँ बढेका छन्। 

कैलालीको टीकापुरमा कृषि उत्पादनमा किसानको सहभागिता बढाउने उद्देश्यले रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइ स्थापना गरिएको छ। 

उक्त  एकाइले कृषितर्फ विभिन्न सहयोग गर्दै आएको छ। आयोजना सञ्चालनपछि यहाँ केरा खेती गर्ने किसान अझ बढेका छन्। टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करिब नौ सय बिघामा केरा खेती भइरहेको केरा किसानहरु बताउँछन्। आयोजनाले किसानलाई केरा खेती विस्तारका लागि थोपा सिँचाइ, केराको टिस्युकल्चर बेर्ना उत्पादन, प्रविधिमा सहयोगजस्ता कार्यक्रम गरिरहेको छ।

आयोजनाको सहयोगमा नयाँ प्रविधिमार्फत खेती गर्न चाहने किसानले ७५ प्रतिशत अनुदान, बेर्ना उत्पादनमा ५० प्रतिशत र प्राविधिक सहयोगतर्फ ५० प्रतिशत अनुदान दिने गरेको छ। कृषि कार्यान्वयन एकाइको सहयोगमा अहिलेसम्म यस क्षेत्रमा दुई सय ५० हेक्टरमा केरा खेतीका लागि किसानलाई सहयोग गरिएको छ। 

उक्त एकाइका सूचना अधिकारी दिलीपजंग राना आयोजनाले तीन सय ३० बिघामा थोपा सिँचाइ सुविधासहित दोस्रो चरणमा सहयोग गरिरहको बताउँछन्। 'हामीले नयाँ प्रविधिमार्फत खेती गर्न चाहने किसानलाई प्राथमिकता दिएका छौँ, यसका साथै थप खेती विस्तार गर्न चाहनेलाई बेर्ना सहयोगसमेत भइरहेको छ', उनले भने, 'गत वर्ष ४४ हेक्टरमा केरा खेती थप गरिएको थियो। केरा खेतीमा थोपा सिँचाइलाई प्राथमिकता दिन्छौँ, त्यसका साथै बेर्ना, विषादी, भिटामिन सहयोगमा समेत अनुदान दिइन्छ।'

यहाँका किसानलाई सिँचाइ आयोजना तथा स्थानीय सरकारले खेतीमा आकर्षित गराउन, उत्पादकत्व बढाउन सघाए पनि बजारीकरणमा सघाउन सकेको देखिँदैन। उत्पादन वृद्धिमात्र भएर भएन। बजारीकरणमा समेत आयोजना र स्थानीय सरकारले सघाउनुपर्ने, केरा बिक्री वितरणमा सघाउने व्यापारीलाई समेत सहयोगका कार्यक्रम ल्याउनुपर्ने माग उठिरहेको छ। 

सूचना अधिकारी राना यहाँको बजार व्यवस्थित गराउने र किसान तथा व्यापारीबीच सम्झौतामा सहयोग, व्यापारीलाई समेत साधन सहयोगजस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउँछन्। 'हामीले अहिले उत्पादन वृद्धिलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, त्यस्ताखाले माग पनि आएका छैनन्', उनले भने, 'बजारीकरण राम्रो भएमा किसानलाई थप हौसला मिल्छ, उत्पादनले मूल्य पनि पाउँछ। अबका दिनमा त्यतातिर पनि सोच्न आवश्यक छ।'  -रासस

प्रकाशित: Sep 11, 2022| 07:00 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्