काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शनिबार साँझ बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्।
अध्यक्ष यादव अनुपस्थित भएपछि बैठक निष्कर्षविनै सकिएको छ। बैठकमा उपस्थित दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठकमा निष्कर्ष सकेन। ‘चार दलले आ–आफ्नो दाबी गरेका छन्, गठबन्धनमै हुँदा धेरैलाई जित्छु जस्तो लाग्छ,’ बैठकमा सहभागी एक सदस्यले भने।
लामो समयदेखि सत्ता गठबन्धनका नेताहरूबीच पटक–पटक प्रयास भएपनि सहमति भने जुट्न सकेको छैन्। सत्ता गठबन्धनले सिट बाँडफाँटको विषय टुंगो लगाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल नै बनाएको थियो।
कार्यदलले बाँडफाँटको टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरु नै जुटेका हुन्। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
जसपाले मधेस प्रदेशमा र प्रदेश १ मा मोरङ ५ र धनकुटा मागेको छ। तर काङ्ग्रेसले दुईवटा दिन नसक्ने बताएपछि कुरा नमिलेको हो।
माओवादी ६० बाट झरेर ५० सिट लिन र कांग्रेस पनि १ सय सिटमा अडान राखे पनि ९० मा झर्न तयार भएपनि जसपा र एकीकृत समाजवादीको मागका कारण सहमति जुट्न नसकेको नेताहरु बताउँछन्।
प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३ सय ३० सिटको बाँडफाँटमा सहमति जुटे गठबन्धन बन्नेछ। यदि सहमति नजुटेको अवस्थामा राजनीतिले फरक मोड लिने नेताहरु बताउँछन्।