काठमाडौं– सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको टुंगो लगाउने बैठक लगातार स्थगित हुन थालेका छन् । शुक्रबार शनिबार ४ बजेसम्मका लागि स्थगित गरिएको सिट बाँडफाँट टुंगो लगाउने शीर्ष नेताहरुको बैठक आज पनि स्थगित गरिएको छ।
बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जनमोर्चाका तर्फबाट सिट बाँडफाँट कार्यदलका सदस्य हिमलाल पुरीले जनकारी दिए। गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो। यादव काठमाडौं बाहिर रहेको र उडान डिले भएकाले काठमाडौं आउन नसकेको बताइएको छ।
काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमा जुट्न सकेनन्। साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो। बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे।