काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ।
बुधबार दराज नेपालकी प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ। नेपाली स्टार्टअप तथा इन्नोभेसनहरुको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन्।
प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन्। यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन्। यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ।