काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रबर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्। राजधानीमा शुक्रबार एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त आग्रह गरेका हुन्।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रबर्द्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एसियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरेका हुन्।
'मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ। यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुका साथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ। निजी क्षेत्रद्वारा प्रबर्द्धित ठूला-ठूला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावनाहरु छन्। श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन। यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुपर्यो,' ढकालले भने।
ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए।
उक्त अवसरमा एसियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीकालागि तयार रहेको बताए। भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एशियाली विकास बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।