काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा भरोसा गर्न सकिने संकल्प र अठोटलाई प्राथमिकता दिइने बताएका बताएका छन्।शर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले आगामी चुनावका लागि घोषणापत्र तयार गर्न समिति संयोजकमा मनोनीत गरेका छन्।
१०९औं जन्मजयन्ती अवसरमा शुक्रबार सुन्दरीजल पुगेर महामन्त्री शर्माले कांग्रेसको घोषणापत्रमा बीपीका परिकल्पना समेटिने बताएका हुन्। ‘अब हामी घोषणापत्र लेखन सुरु गर्नेछौं। कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान हुने छैन। जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहनेछ,’ उनले भने।
गरिब जनताको भावना समेट्ने गरी घोषणापत्र बनाइने पनि उनले जिकिर गरे। ‘कहिलेसम्म शिक्षाबाट नागरिक वञ्चित हुने, उच्च शिक्षा लिएर पनि कहिलेसम्म बेरोजगार रहने?,’ उनले भने, ‘यसका विकल्प के र कसरी दिने? घोषणापत्र त्यसमै केन्द्रित रहन्छ।’
कांग्रेसको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्पसहित घोषणापत्र तयार पारिने उनको भनाइ छ। ‘स्थापनाकालमा बीपीले लेख्नुभएको दस्तावेज, २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजको गहिरो अध्ययन गरी अबको घोषणापत्र निर्माण गरिनेछ,’ उनले भने, ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यावहारिक घोषणापत्र निर्माण गर्नेछौं।’
बीपीले परिकल्पना गरेको नेपाल र अहिलेका नेपाली युवाको भावनालाई एकाकार गरेर देशका सपनालाई समेट्ने गरी घोषणापत्र बन्ने उनले बताए। सुन्दरीजलमा सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार पनि उपस्थित थिए।